समय : १०:४८ am | बुधबार , असाेज १४ गते २०८३

वैदेशिक रोजगारीलाई जितेको गोलभेँडाखेती

अर्थ विशेष | असाेज १४ गते २०८३

सर्लाही । हरिवन नगरपालिका–४ सासापुर निवासी महमद अकबर अन्सारी पछिल्ला दिन गोलभेँडा (टमाटर) बारीमा व्यस्त छन् । उमेरले चार दशक लागेका उनका लागि खेतीपाती दैनिकी गुजार्ने माध्यममात्र होइन, उन्नति गर्ने उद्यम बनेको छ ।

मङ्गलबार दिउँसो अन्सारी हरिवन नगरपालिका–२ पाकरगाछी नजिकै खेतमा धमाधम टमाटरको विछन राख्ने तयारी गर्दै थिए । यस वर्ष उनले सात बिघा खेतमा टमाटर रोप्ने बताए । त्यसमध्ये तीन बिघा खेतमा उनले दुईपटक गरेर गोलभेँडाको बेर्ना सारिसकेका छन्। बाँकी दुई बिघा खेतका लागि टनेलमा बेर्ना तयारी अवस्थामा छन् भने बाँकी दुई बिघा खेतका लागि बीज राख्ने काम धमाधम भइरहेको छ ।

उनले अधिकांश खेतमा ‘कविता’ जातको गोलभँेडा लगाउने बताए । यस जातको टमाटरको माग बजार उच्च छ, अन्यले अन्य जातको पनि लगाउनुहुन्छ, तर मलाई यही जात राम्रो लाग्छ उनले भने । विगत आठ वर्षदेखि गोलभेँडाखेतीलाई आफूले उद्यमका रुपमा अँगालेको अन्सारीले बताए । जोखिमको खेती भए पनि अहिलेसम्म लगानी डुब्यो भनेर चिन्ता गर्नुपर्ने दिन आएको छैन ।

भदौ सुरुबाट गोलभेँडाको विछन राख्न सुरु गरिन्छ । बेर्ना २५ देखि ३० दिनको भएपछि तयार गरिराखेको खेतमा लगेर बेर्ना सारिन्छ । त्यसको ३० देखि ४५ दिनबाट गोलभेँडाले उत्पादन दिन सुरु गर्ने अन्सारीले बताए । कच्चा पदार्थका रूपमा रहने गोलभेँडा छोटो समयमा सड्ने भएकाले किसानले राम्रो मूल्य नपाउने उनको अनुभव छ । त्यसमा पनि विगतका वर्ष नेपाल–भारत खुला सीमाबाट निर्वाध गोलभेँडा आउँदा यहाँका किसान थप मारमा परेका थिए ।

गत वर्षदेखि भारतबाट गोलभेँडा भित्रने क्रम रोकिएको छ । योसँगै स्थानीय उत्पादनले राम्रो मूल्य पाएको अन्सारीले जानकारी दिए । अन्सारीसँग मात्र पाँच कट्ठा खेत छ । उनले हरेक वर्ष ठेक्कामा खेत लिएर गोलभेँडा रोप्ने गर्छन्। प्रतिबिघा खेतको भाडा वर्षको रु ६० हजार तिर्नुपर्छ । त्यसमा हरेक वर्ष वर्षामा मकै र बाँकी समय गोलभेँडा र हरियो तरकारी लगाउने गरेको उनले बताए ।

गोलभेँडा तथा हरियो तरकारीेखेतीमा मिहिनेत धेरै भए पनि दुःखअनुसारको आम्दानी रहेको उनको अनुभव छ । गत वर्ष १० बिघा खेतमा गोलभेँडाखेती गरेका उनले ७५ लाख बढीको उत्पादन लिएको बताए । त्यसबाट लगानी (बीउबिजन, मलखाद, जग्गा ठेक्का, ज्याला लगायतको) काटेर रु ५० लाख बढी मुनाफा भएको उनले जानकारी दिए। त्यसबाट घरको माथिल्लो एक तला थपेको र दुई कट्ठा १० धुर घडेरीसमेत जोडेको उनले बताए ।

अन्सारी वैदेशिक रोजगारीका लागि सन् २००९ को अन्तिमतिर कतार पुगेका थिए । साढे चार वर्ष कतार बसेर फर्कनुभएका उहाँले रोजगारीको विकल्प नहुँदा फेरि विदेशकै बाटो समाते । दोस्रोपटक कृषि कामदारका रूपमा कतार पुगेका उनी वर्ष दिनमै फर्किए । “पाँच वर्ष बढी समय विदेशमा दुःख गरेँ, त्यसबाट कुनै ठुलो उपलब्धि भएन, त्यसपछि भने गाउँघरमै पितापुर्खाले अँगालेको व्यावसायिक तरकारीखेती गर्ने योजना बनाएँ, अहिलेसम्म राम्रो छ”, उनले भने ।

त्यसपछि गोलभेँडालगायत तरकारीखेती सुरु गरेका उनले पछाडि फर्केर हेर्नु नपरेको बताए। “चार सन्तान यसैको आम्दानीबाट पढाइरहेको छु”, उन्ले सुनाए, “जेठो छोरो भारतमा पढ्दै छ । बाँकी तीन यतै पढ्दैछन् । मेरो घर खर्चमात्र महिनाको रु लाख छ । त्यसका लागि मेरो एकमात्र विकल्प भनेको यही खेतीकिसानी हो ।”

अन्सारीका लागि यो खेती नौलो थिएन । उनका बुबाले विगत ३५ वर्षदेखि गोलभेँडाखेती गर्दै आएका छन् । अहिले पनि अन्सारीको दाजुभाइ, काकालगायत परिवारले मात्र ३० बिघा बढीमा गोलभेँडाखेती गरेका छन् । गोलभेँडाखेतीसम्बन्धी राम्रो अनुभव बटुलेका उनले हरेक वर्ष मुख्य सिजनलाई छलेर उत्पादन निकाल्ने गरेको बताए । जसले गर्दा उत्पादनले समेत राम्रो मूल्य पाउने गरेको छ ।

अन्सारीले गोलभेँडा लगाउने बेलासमेत १० देखि १५ दिन अन्तरमा तीनदेखि चार लटमा गोलभेँडा लगाउने गरेको बताए । यसरी गरेको खेतीबाट मौसम र मूल्यका कारण हुने जोखिम कम गर्न सकिने उनको तर्क छ । मौसम बिग्रिएको बेला वा मूल्य अस्थिर रहेको समय कुनै एक लटको खेतीले मात्र सङ्कट छल्न सक्यो भने पनि लगानी सुरक्षित रहने उनको भनाइ छ । एकैपटक लगाउँदा मौसम बिग्रिँदा वा मूल्य अस्थिर भएको बेला निस्कियो भने सबै बर्बाद हुने उनको तर्क छ ।

उन्नत कविता जातको गोलभेँडाको बीउको प्रतिप्याकेट रु एक हजारदेखि एक हजार १०० सम्म पर्ने हरिवन नगरपालिका–२ का मुखचन्द्र महतोले जानकारी दिए । बेर्ना तयारीदेखि खेत तयारी गरेर रोप्दासम्म प्रतिकट्ठा रु १५ देखि २० हजारसम्म खर्च हुने उनको भनाइ छ । मौसममा हुने फेरबदल र शीतलहरलगायत कारण लगानी बढ्ने जोखिम रहने उनले सुनाए । रोप्ने बेलामा आवश्यक मलखाद नपाएर कालोबजारीसँग किन्नुपर्दा थप मर्का पर्ने गरेको उनको गुनासो छ ।

नेपालमै धेरै गोलभेँडा उत्पादन हुने सर्लाहीको हरिवन, लालबन्दी क्षेत्रमा दुई हजार हेक्टर क्षेत्रफलमा व्यावसायिक गोलभेँडाखेती फैलिएको छ । यहाँ उत्पादन भएको गोलभेँडा देशका मुख्य सहर हेटौँडा, वीरगन्ज, जनकपुर, विराटनगर, बुटवल, भैरहवा, काठमाडौँ, पोखरालगायतका बजारसम्म पुग्ने गरेको छ भने, स्थानीय बजारसँगै सस उद्योगलगायतमा पनि यहाँ उत्पादित गोलभेँडा खपत हुने गरेको छ । यहाँ प्रतिवर्ष १५ हजारदेखि २४ हजार मेट्रिक टनसम्म गोलभेँडा उत्पादन हुने गरेको स्थानीय कृषि थोकबजारको तथ्याङ्कमा उल्लेख छ ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्