एजेन्सी । मध्यपूर्वमा जारी द्वन्द्वका कारण ऊर्जा मूल्यमा आएको वृद्धिको प्रभावले जुलाई महिनामा युरो क्षेत्रको मुद्रास्फीति पुनः बढेको छ । विश्लेषकहरूको अनुमानअनुरूप जारी तथ्याङ्कअनुसार उपभोक्ता मूल्य वृद्धिदर जुनको २.८ प्रतिशतबाट जुलाईमा २.९ प्रतिशत पुगेको छ ।
युरोपेली सङ्घ (इयु) को तथ्याङ्क निकाय युरोस्ट्याटले शुक्रबार सार्वजनिक गरेको विवरणमा मुद्रास्फीति अझै पनि युरोपेली केन्द्रीय बैङ्क (इसीबी) को दुई प्रतिशत लक्ष्यभन्दा उल्लेखनीय रूपमा माथि रहेको छ ।
इसीबीकी अध्यक्ष क्रिस्टिन लागार्डले गत साता अमेरिका–इरानबीचको द्वन्द्वका कारण ऊर्जा बजारमा थप दबाब पर्न सक्ने र त्यसको असर मुद्रास्फीतिमा अझ तीव्र रूपमा देखिन सक्ने चेतावनी दिनुभएको थियो ।
इसीबीले जुलाई २३ मा आफ्नो प्रमुख निक्षेप ब्याजदर यथावत् राखे पनि मध्यपूर्वको तनावका कारण मूल्यवृद्धि थप चर्किन सक्ने आकलन गर्दै सेप्टेम्बरमा ब्याजदर बढाउने सम्भावना खुला राखेको छ ।
यसै महिनामा अमेरिका र इरानबीच नयाँ सैन्य आक्रमणहरू भएका भए पनि मध्यस्थकर्ताको भूमिका निर्वाह गरिरहेको पाकिस्तानले दुवै पक्षबीच वार्ता जारी रहेको जनाएको छ ।
ऊर्जा र खाद्यजस्ता अस्थिर वस्तुहरूलाई बाहिर राखेर गणना गरिने ‘कोर मुद्रास्फीति’ पनि जुनको २.४ प्रतिशतबाट बढेर जुलाईमा २.५ प्रतिशत पुगेको युरोस्ट्याटले जनाएको छ ।
तथ्याङ्कअनुसार जुलाईमा ऊर्जा मूल्यवृद्धिदर ८.५ प्रतिशतबाट बढेर १० प्रतिशत पुगेको छ । त्यसविपरीत खाद्य तथा पेय पदार्थको मुद्रास्फीति भने जुनको १.५ प्रतिशतबाट घटेर जुलाईमा १.२ प्रतिशतमा झरेको छ ।










