मनोरथ नेपाल/काठमाडौं । आफ्नो व्यक्तिगत र पारिवारिक आवश्यकता बाहेक थोरै मात्रै मान्छेले समाजसेवाका लागि समय छुट्याउन सक्छन् । तर, चितवन भरतपुर १६ का आकाश आर्यालले भने दैनिक रूपमा नै समय छुट्याएर समाजसेवा गर्ने गरेका छन् ।
अटो चालक अर्यालले क्यान्सरका बिरामी तथा कुरुवालाइ सार्वजनिक बिदा बाहेक हरेक दिन बिहान ७ बजे देखी १० बजेसम्म ३ घन्टा निःशुल्क अटो सेवा दिँदै आएका छन् । बिगत १ वर्षदेखि उनले यो सेवा सञ्चालन गर्दै आएका हुन् । अहिलेसम्म ५ हजार भन्दा धेरै क्यान्सरका बिरामी र बिरामीका परिवारलाई अर्यालले अर्यालले निःशुल्क अटो सेवा दिइसकेका छन् ।
उनले अटो सेवाको साथै क्यान्सर बिरामीलाइ फलफूल समेत वितरण गर्छन् । हरेक दिन नारायणगढको पुल्चोकबाट भरतपुर क्यान्सर अस्पतालसम्म सेवा दिने गरेको उनले बताए । लामो समयदेखि अटो सञ्चालन गर्दै आएका अर्यालले २०८२ बैशाख १४ गते मातातिर्थ औँशीको दिनबाट सो सेवाको सुरुवात गरेका हुन् ।
रिक्सा चलाउने क्रममा क्यान्सर जस्तो जटिल रोग लाग्दा मानिसले कति धेरै दुःख दुख पाउछन् भन्ने थाहा पाएपछि उनीमा उनीहरूलाई सेवा गर्ने भावना आएको बताउँछन् ।
‘मैले रिक्सा चलाउँदै गर्दा, क्यान्सरका बिरामी पीडा निकै देखेँ, मैले पनि उहाँहरूको लागि केही गरुँ जस्तो लाग्यो र दैनिक ३ घण्टा आफ्नो समय छुट्याएर यो सेवा सुरु गरेको हुँ’, उनी भन्छन्, महिनौँसम्म अस्पताल धाउँदा खर्चको जोहो गर्न सजिलो हुँदैन त्यसैले मानव सेवा नै ठूलो धर्म हो भनेर मैले यो सेवा सुरु गरेँ ।’
बिरामीलाइ नगद सहयोग गर्न नसकेपनी निःशुल्क अटो सेवा दिन पाउँदा आफू निकै प्रसन्न हुने गरेको उनले बताए । उनी बिहान सबेरै अटो लिएर सडकमा निस्किँदा क्यान्सरका बिरामी धेरै भेटिने गरेको उनले सुनाए । जसलाई अस्पतालसम्म पुर्याएर उनले आफ्नो दिनको सुरुवात गर्छन् ।










