टीकापुर (कैलाली) । यहाँका किसान विषादीरहित प्राकृतिक तरकारी उत्पादनमा लागेका छन् । मानव स्वास्थ्य र माटो संरक्षणका लागि यहाँका एक सय ४० किसानले विषादीरहित तरकारीखेती गर्न थालेका हुन् ।
विषादीको प्रयोगले मानव स्वास्थ्यमा प्रतिकूल असर पार्ने बुझेपछि प्राकृतिक तरकारी खेतीतर्फ लागेको किसानहरू बताउँछन् । ती किसानले आठ वटा कृषक समूह बनाएर तरकारी खेती गरिरहेको जनाएका हुन् ।
टीकापुर— १ को वनगाउँ र शङ्करपुर, वडा नं २ को राजीपुर र सीतापुर, वडा नं ३ को घीया, वडा नं ५ नुक्लीपुरमा समूह बनाएर तरकारी खेतीतर्फ लागेका हुन् ।
टीकापुर–१ वनगाउँस्थित असल चमेली कृषक समूहका अगुवा किसान मीनबहादुर चौधरीले विषादी न्यूनीकरण र सुरक्षित खाद्य तत्व संरक्षणका लागि तीन वर्षदेखि खेती गर्न थालिएको बताए । “माटोको उर्वरा शक्ति बढाउने, बढी उत्पादन लिने र जैविक जीवाणु संरक्षण तथा स्वस्थ तरकारी उत्पादनमा जैविक प्राकृतिक खेतीमा लागेका छौँ”, उनले भने, “हामीले नजानेर माटो र स्वास्थ्यमा खेलवाड गरिरहेका रहेछौँ भन्ने बुझेपछि यसतर्फ लागेका हौँ । खेतीमा रासायनिक मल र विषादी हाल्दैनौँ, घरमै जैविक विषादी बनाएर प्रयोग गरिरहेका छौँ ।”
किसानले घरमै जैविक, घरेलु मल बनाउने गरेका छन् । मल बनाउन झारपात, सडेगलेका तरकारी, पिसाब आदि प्रयोग गरिन्छ । वनगाउँमा रहेको कृषक समूहमा १५ जना किसान आबद्ध छन् । यी किसान कसैले पाँच कट्ठा त कसैले १५ कट्ठा जमिनमा तरकारीखेती गरिरहेका छन् ।
यतिबेला यहाँका बारीमा काक्रा, फर्सी, लौका, भिन्डी, खुर्सानी, टमाटरलगायतको तरकारी छ । पछिल्लो समय उपभोक्ताले पनि विषादीरहित उत्पादनको महत्त्व बुझेपछि बारीमै तरकारी किन्ने आइरहेका छन् । बचेको तरकारी टीकापुर बजारमा लाग्ने हाटबजारमा बिक्री गर्ने गरिएको चौधरीले जानकारी दिए ।
टीकापुर नगरपालिकाले अर्गानिक तरकारीखेती गर्ने किसानको सहजताका लागि हाटबजारमा छुट्टै ‘स्टल’ को व्यवस्था गरिदिएको छ । यसरी अर्गानिक खेती गरे पनि बजार मूल्य अन्य तरकारी सरह हुँदा आफूहरू मर्कामा परेको किसानको गुनासो छ । किसान रुविना चौधरीले विषादीरहित र अर्गानिक तरकारीको मूल्य फरक हुनुपर्ने बताए ।
“हामीले मानव स्वास्थ्य र वातावरण संरक्षणमा योगदान पुग्ने गरी उत्पादन गरिरहेका छौँ, तर बजार मूल्य भने अन्य तरकारीजस्तै छ”, उनी भन्छन्, “यसले हामी मारमा परिरहेका छौँ । अब सबैले हाम्रो मेहनत बुझ्नुपर्छ, विषादी नहालेको तरकारी उत्पादक किसानलाई प्रोत्साहन गर्न उपभोक्ता र सरकार पनि गम्भीर बन्नुपर्छ ।”
किसानको जीविकोपार्जनमा सुधार र उपभोक्ताका स्वास्थ्य लाभका लागि प्राकृतिक तरकारीखेतीमा लाग्न सेवक नेपाल नामक संस्थाले सहयोग गरिरहेको छ । यसमा टीकापुर नगरपालिकाको पनि सहकार्य छ ।
सेवक नेपालका परियोजना अधिकृत प्रेम चौधरीले संस्थाले समूहमा आबद्ध एक सय ४० जना किसानलाई प्राकृतिक खेतीका लागि बीउबिजन, प्रविधि र अन्य प्राविधिक सहयोग गरिरहेको बताए ।
किसानलाई विषादी र रासायनिक मल प्रयोग गर्न नदिन सचेत गराउनुका साथै विकल्पका रूपमा स्थानीयस्तरमै पाइने सामग्री प्रयोग गरी झोल मल बनाउन सिकाइएको उनले जानकारी दिए ।










