समय : १२:४७ pm | मङ्गलबार , चैत्र २४ गते २०८२

एक महिनामा साढे ४८ हजार पर्यटक पुगे अन्नपूर्ण क्षेत्र

अर्थ विशेष | चैत्र २४ गते २०८२

गण्डकी। दोस्रो मुख्य पर्यटकीययाम सुरु भएसँगै अन्नपूर्ण संरक्षण क्षेत्रमा पर्यटकको चहलपहल बढेको छ। गत मार्च महिनामा ४८ हजार ५१३ जना विदेशी पर्यटकले उक्त क्षेत्रका विभिन्न गन्तव्यस्थलको भ्रमण गरेका अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना ९एक्याप०ले जनाएको छ। तीमध्ये दक्षिण एसियाली मुलुकका ३२ हजार २० र अन्य देशका १६ हजार ४९३ पर्यटक रहेका छन्।

सन् २०२५ को मार्च महिनाको तुलनामा यस वर्ष ११ हजार ६७९ पर्यटक बढको आयोजना प्रमुख डा रविन कडरियाले बताए। पछिल्लो समय यस क्षेत्रमा पर्यटक आगमनमा वृद्धि भइरहेको उनको भनाइ छ।

“नेपाल भित्रने विदेशी पर्यटकमध्ये ४० प्रतिशत अन्नपूर्ण क्षेत्रको भ्रमणमा आउने गरेका तथ्याङ्कले देखाएको छ”, उनले भने, “यहाँ आउने दक्षिण एसियाली पर्यटकमा भारतीयको सङ्ख्या बढी छ।”

नेपालमा मार्चदेखि मेसम्मको महिनालाई दोस्रो मुख्य पर्यटकीययामका रूपमा लिइन्छ। नयाँ वर्ष आउन लागेको र वार्षिक परीक्षापछि शैक्षिक संस्थामा पनि बिदा हुने भएकाले यस याममा आन्तरिक पर्यटकको चहलपहल पनि बढ्ने आयोजना प्रमुख डा कडरियाले बताए। पदयात्रा गर्न रुचाउने आन्तरिक तथा बाह्य पर्यटकका लागि यो याम उत्तम रहेको उनको भनाइ छ।
आयोजना कार्यालयले अन्नपूर्ण चक्रीय पदमार्गमा घुमफिर गर्ने विदेशी पर्यटकको मात्र तथ्याङ्क राख्ने गरेको छ। सडक मार्ग भएर बर्सेनि ठूलो सङ्ख्यामा आन्तरिक पर्यटक यस क्षेत्रमा भित्रने गरेका छन्।

यहाँको अन्नपूर्ण आधार शिविर, मर्दी हिमाल, घान्द्रुक, मनाङको तिलिचो ताल, थोरङ्ला भञ्ज्याङ, उपल्लो मुस्ताङ, म्याग्दीको घोरेपानी, पुनहिलगायत अन्नपूर्ण फेरोमा पर्ने गन्तव्यस्थल पर्यटकको रोजाइमा पर्ने गरेको छ।

सात हजार ६०० वर्ग किलोमिटरमा फैलिएको अन्नपूर्ण संरक्षण क्षेत्रमा कास्की, लमजुङ, मनाङ, म्याग्दी र मुस्ताङका १५ स्थानीय तहका ८७ वडा पर्छन्। अन्नपूर्ण क्षेत्र पदयात्रा पर्यटनका लागि विश्वमै प्रसिद्ध मानिन्छ।

प्राकृतिक सौन्दर्य, जैविक विविधता, हिमाली जनजीवन, सभ्यता, संस्कृति आदि कारणले देशविदेशका यस क्षेत्र परिचित छ। कास्की, लमजुङ, मनाङ, म्याग्दीलगायत जनसुकै मार्गबाट अन्नपूर्ण क्षेत्रको छोटो, मध्यम र लामो दूरीको पदयात्रा तय गर्न सकिन्छ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्