काठमाडौं। प्रधानमन्त्री वालेन्द्र शाहले सुदूरपश्चिम प्रदेशका सांसदहरुसँग विकास निर्माण तथा त्यस क्षेत्रमा देखिएका समस्या समाधानका बारेमा छलफल गरेका छन्। उनले मंगलबार सिंहदरबारमा सुदूरपश्चिम प्रदेशमा विकास निर्माणका बारेमा छलफल गर्दै समस्या समाधानमा पहल गर्ने बताउनुभएको डोटीका सांसद भरत खड्काले राससलाई जानकारी दिए।
‘प्रधानमन्त्रीले प्रदेशगत रुपमा निर्वाचित सांसदसँग विकासको वस्तुस्थितिबारे छलफल गर्नुभएको हो’, प्रधानमन्त्रीसँगको भेटबारे सांसद खड्काले भने। प्रदेश र जिल्लाभित्रका विकासका योजनाका बारेमा आफूहरुले प्रधानमन्त्रीसँग कुरा राखेको बताए।
‘सेती जलविद्युत् आयोजना, कैलाली–दिपायल सडक, सेती लोकमार्गलगायत सडक निर्माण एवं स्तरोन्नति, सिँचाइ, शिक्षा, स्वास्थ्य क्षेत्रको स्तरोन्नति तथा हवाई सेवा विस्तारलगायत विषयमा प्रधानमन्त्रीको ध्यानाकर्षण गराएँ’, सांसद खड्काले भने।
सांसदहरुले प्रस्तुत गर्नुभएका विषयलाई सम्बोधनको प्रयास गर्ने प्रधानमन्त्री शाहले जानकारी दिनुभएको उनले बताए। साथै प्रधानमन्त्रीले समस्याहरु सचिवालयमा टिपाउन आग्रह गरेका थिए। प्रधानमन्त्री शाहले सोमबार कोशी र कर्णाली प्रदेशबाट संसद्मा प्रतिनिधित्व गर्नुभएका विभिन्न राजनीतिक दलका सांसदहरुसँग छलफल गरेका थिए।









