काठमाडौं । सरकारले निजी क्षेत्र संरक्षण एवं प्रवर्द्धन रणनीति (पीएसपीपी) तत्काल कार्यान्वयन गर्ने निर्णय गरेकोमा नेपाल उद्योग वाणिज्य महासंघले प्रशंसा गरेको छ ।
चैत १३ गतेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको हो । महासंघले २०८२ कात्तिक २२ गते आर्थिक बहसमार्फत परिवर्तित अवस्थामा सो रणनीति आवश्यक भएको भन्दै सरकारको ध्यानाकर्षण गराएको थियो ।
त्यसलगत्तै शान्ति स्थायित्व र समृद्धिका लागि सहकार्य कार्यक्रममा थप छलफल गरी महासंघले सरकारलाई (पीएसपीपी) को अवधारणापत्र पेस गरेको थियो । “यसबाट निजी क्षेत्रका व्यवसाय, व्यक्तिगत र लगानीको सुरक्षा र आवश्यक प्रवद्र्धन सरकारले प्रत्याभूत गर्ने प्रतिवद्धता आएको छ । निजी क्षेत्रको मनोबल बढाइ लगानी प्रवद्र्धनमा सहयोग पुग्ने अपेक्षा गरेका छौँ,” महासंघ अध्यक्ष ढकालले भने ।
भदौ २३ र २४ गतेको प्रदर्शनपछि निजी क्षेत्रका व्यवसाय, आवास एवं प्रतिष्ठानमा भएको तोडफोड एवं आगजनीबाट प्रभावित निजी क्षेत्रलाई एकीकृत राहत र व्यवसाय सरलीकरण गर्न महासंघले उक्त प्रस्ताव पेस गरेको थियो । मन्त्रिपरिषद्को निर्णयमा आवश्यक सहुलियत समेत उपलब्ध गराउने निर्णय समेत भएको छ ।
नीतिगत सुधारका लागि महासंघकै आग्रहबमोजिम दोस्रो चरणको आर्थिक सुधारका लागि गठित उच्चस्तरिय आर्थिक सुधार सुझाव आयोगले पेस गरेका सुझावहरूलाई पनि सरकारले ग्रहण गरी कार्यान्वयन गर्ने निर्णय गरेको छ । जसअनुरुप, १५ वटा कानुन खारेजी प्रक्रियामा लैजाने नवनियुक्त अर्थमन्त्री डा. स्वर्णिम वाग्लले निर्णय गरेका छन् ।
महासंघकाअनुसार, ढोरपाटनमा आयोजित तेस्रो कार्यकारिणी समितिको बैठकले आर्थिक बहस कार्यक्रम आयोजना गरी दोस्रो चरणको आर्थिक सुधारको मार्गचित्र तयार पार्न उच्चस्तरिय आर्थिक सुधार सुझाव आयोग गठन गर्न सरकार समक्ष आग्रह गर्ने निर्णय गरी यसका लागि पैरवी गरेको थियो ।
यसैक्रममा महासंघका अध्यक्ष ढकाल भन्छन्, “राष्टिय आर्थिक रुपान्तरण २०३० मार्फत यी लगायतका कानुनको संसोधन, परिमार्जन एवं खारेजीका लागि आग्रह गरेको थियो । आयोगका सुझाव कार्यान्वयनका लागि पीएसपीपीले संयन्त्रका रूपमा काम गर्नेछ । रणनीति निर्माण र कार्यान्वयनमा हामी सरकारसँग सहकार्य गर्नेछौँ ।”
यसैगरी महासंघको आग्रहमा विदेशी लगानी सहजीकरणका लागि लगानी बोर्ड, उद्योग विभाग लगायतका एकै प्रकारका कार्य गर्ने निकायको एकिकृत संरचना निर्माण गर्ने निर्णयले सेवाग्राहीलाई सहज र सरल सेवा र्पुयाउन सहयोग पुग्ने विश्वास लिइएको छ ।
यस्तै, सर्वसाधारणले लिने अधिकांश सेवा डिजिटल माध्यमबाट दिइने र शुसासन कायम गर्ने सरकारको प्रतिबद्धता छ । सरकारले सवै व्यावसायिक सेवा दिने गरी वन डोर बिजनेस प्लाटफर्म ४५ दिनभित्र तयार पार्ने उल्लेख गरेको छ । उक्त सेवा नागरिक एपमार्फत दिने सकिने सम्भावाना रहेको र यसको अध्ययन प्रतिवेदन महासंघले सरकारसमक्ष छिट्टै पेस पनि गर्नेछ । उर्जा उत्पादन र निर्यातलाई प्रोत्साहन दिने विषय पनि सकारात्मक छ । ऊर्जालाई कच्चा पदार्थका रुपमा ग्रहण गरि उत्पादनमूलक उद्योगलाई सहुलियत दरमा उपलब्ध गराउन सके यसले दोहोरो फाइदा हुने महासंघको आग्रह छ ।
नेपाल सरकारको शासकीय सुधारसम्बन्धी सय बुँदे कार्यक्रमको ६०औँ बुँदामा पीएसपीपी समेटिएको महासंघको भनाइ छ । देशको आर्थिक स्थायित्व, लगानी वातावरण सुदृढिकरण तथा निजी क्षेत्रको विश्वास पुनर्स्थापना गर्ने उद्देश्यले निजी क्षेत्र संरक्षण एवं प्रवद्र्धन रणनीति (पीएसपीपी) स्वीकृत गरि तत्काल लागु गर्ने निर्णय मन्त्रिपरिषदले गरेको महासंघको भनाइ छ । “महासंघको सुझाव मनन गरी सरकारले सो रणनीतिमार्फत भौतिक सुरक्षा तथा सम्पत्ति संरक्षण, आर्थिक पुर्नरोत्थान एवं नियमकीय सरलीकरण र लगानी प्रवर्द्धन तथा युवा उद्यमशीलता सम्बन्धि कार्यनीतिहरू तत्काल कार्यान्वयन गर्ने पनि निर्णय गरेको छ,” महासंघमार्फत जारी विज्ञप्तिमा उल्लेख छ ।









