समय : ०६:१८ pm | मङ्गलबार , चैत्र ३ गते २०८२

श्रीलङ्कामा इन्धन सङ्कट, सरकारी कार्यालय बुधबार बन्द रहने

अर्थ विशेष | चैत्र ३ गते २०८२

काठमाडौं। मध्यपूर्वमा जारी युद्धका कारण श्रीलंकाले देशमा देखिएको इन्धन अभाव व्यवस्थापन गर्न सरकारी क्षेत्रका कर्मचारीको काम गर्ने समय तालिकामा परिवर्तनको निर्णय गरेको छ।

मंगलबार जारी गरिएको सूचनाअनुसार मार्च १८ देखि सरकारी कर्मचारीका लागि हरेक बुधबार साप्ताहिक बिदा दिने व्यवस्था लागू गरिने भएको छ।

आवश्यक सेवाका आयुक्त प्रभात चन्द्रकीर्थीले सार्वजनिक गरेको जानकारीअनुसार सबै सरकारी विद्यालय, विश्वविद्यालय तथा अदालत पनि बुधबार बन्द रहनेछन्। तर, स्वास्थ्य सेवा, बन्दरगाह, खानेपानी आपूर्ति र भन्सारजस्ता अत्यावश्यक सेवामा भने यो निर्णय लागू हुने छैन।
सरकारी निकायका प्रमुखले कामको आवश्यकताका आधारमा बाँकी चार कार्यदिनभित्र कर्मचारीलाई काममा बोलाउन सक्ने अधिकार राख्ने पनि बताइएको छ।

यससँगै इन्धन संकटलाई ध्यानमा राख्दै सरकारले अर्को सूचना नभएसम्म सबै सरकारी कार्यक्रम स्थगित गरेको छ। साथै निजी क्षेत्रका संस्थालाई पनि सम्भव भएसम्म यस्तै व्यवस्था अपनाउन सरकारले आग्रह गरेको छ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्