एजेन्सी । मध्यपूर्वमा युद्धको खतरा बढिरहेका बेला अमेरिका र इरानबीच तेहरानको आणविक कार्यक्रमबारे भएको पछिल्लो अप्रत्यक्ष वार्ता कुनै ठोस सम्झौताविना समाप्त भएको छ । जेनेभामा बिहीबार घण्टौँ चलेको संवादपछि दुवै पक्ष बाहिरिए पनि तनाव घट्ने संकेत स्पष्ट देखिएको छैन ।
वार्ताको मध्यस्थता गरिरहेका ओमानका विदेशमन्त्री बद्र अल–बुसाइदीले ‘उल्लेखनीय प्रगति’ भएको बताए, तर कुनै ठोस सहमति सार्वजनिक भएन ।
वार्ता अन्त्य हुनुअघि इरानी राज्य टेलिभिजनले तेहरान युरेनियम संवर्धन जारी राख्न प्रतिबद्ध रहेको, संवर्धित सामग्री विदेश पठाउने प्रस्ताव अस्वीकार गरेको र अन्तर्राष्ट्रिय प्रतिबन्ध हटाइनुपर्ने अडान दोहोर्याएको जनाएको थियो ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प इरानको आणविक कार्यक्रम पूर्ण रूपमा रोक्ने सहमति चाहन्छन्। उनले इरान आन्तरिक असन्तोषले कमजोर बनेको बेला दबाब बढाउने अवसर देखेका छन् ।
तर इरानले आफूलाई शान्तिपूर्ण उद्देश्यका लागि युरेनियम संवर्द्धन गर्ने अधिकार रहेको बताउँदै लामो दूरीको क्षेप्यास्त्र कार्यक्रम वा हमास र हिजबुल्लाहजस्ता समूहलाई समर्थनबारे छलफल गर्न अस्वीकार गर्दै आएको छ ।
अन्तर्राष्ट्रिय आणविक ऊर्जा एजेन्सी (आईएईए) को मुख्यालय भियनामा प्राविधिक तहका वार्ता अर्को हप्ता जारी रहने अल–बुसाइदीले जानकारी दिए। सम्भावित कुनै पनि सहमतिमा आईएईएको भूमिका निर्णायक हुने अपेक्षा गरिएको छ ।
इरानका विदेशमन्त्री अब्बास अराघचीले अमेरिकी पक्षसँगको संवादलाई ‘सबैभन्दा गहन र लामो चरणको वार्ता’ बताए। उनले इन्डिया टुडेसँगको अन्तर्वार्तामा सम्भावित युद्ध ‘विनाशकारी’ हुने चेतावनी दिँदै अमेरिकाले आक्रमण गरे क्षेत्रभर फैलिने जोखिम औँल्याए । इरानले अमेरिकी सैन्य अड्डा र इजरायललाई समेत सम्भावित लक्ष्य मान्ने चेतावनी दिँदै आएको छ ।
इन्टरनेसनल क्राइसिस ग्रुपका विश्लेषक अली वेजले वार्तापछि अमेरिकी टोली तुरुन्तै नहट्नु सकारात्मक संकेत भएको टिप्पणी गरे। उनका अनुसार दुवै पक्षबीच अझै केही साझा आधार बाँकी रहेको देखिन्छ ।
गत वर्ष इजरायलले इरानविरुद्ध १२ दिने युद्ध सुरु गरेपछि र अमेरिकाले इरानका आणविक साइटमा आक्रमण गरेपछि रोकिएको वार्ता यसपटक पुनः सुरु भएको थियो । करिब तीन घण्टा चलेको छलफलपछि छोटो विराम लिएर पुनः बैठक बसेको थियो । इरानी विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बाघाईले आणविक मुद्दा र प्रतिबन्ध राहतमा ‘रचनात्मक प्रस्ताव’ राखिएको बताएका छन् ।
अमेरिकी विदेशमन्त्री मार्को रुबियोले इरानले आणविक कार्यक्रमका तत्वहरू पुनर्निर्माण गर्न खोजिरहेको आरोप लगाए । इरानले जुनदेखि संवर्द्धन नगरेको दाबी गरे पनि आइएइए निरीक्षकलाई बमबारी गरिएका स्थलमा प्रवेश दिएको छैन । स्याटेलाइट तस्वीरले ती क्षेत्रमा गतिविधि देखाएको विश्लेषण सार्वजनिक भएको छ ।
सन् २०१५ को आणविक सम्झौताबाट अमेरिका बाहिरिएपछि इरानले युरेनियम संवर्द्धन ६० प्रतिशतसम्म पुर्याएको थियो, जुन हतियार–ग्रेड ९० प्रतिशतको नजिक मानिन्छ । अमेरिकी गुप्तचर मूल्यांकनअनुसार इरानले औपचारिक रूपमा हतियार कार्यक्रम पुनः सुरु नगरे पनि आवश्यक पूर्वाधार सुदृढ बनाउने गतिविधि गरिरहेको देखिन्छ ।
यदि वार्ता पूर्ण रूपमा असफल भयो भने सम्भावित सैन्य कारबाहीको आकार र उद्देश्य अस्पष्ट छ । सीमित आक्रमणले इरानलाई झुकाउने कि दीर्घकालीन युद्धतर्फ धकेल्ने भन्ने अन्योल कायमै छ । यस्तो कदमले पर्सियन खाडी र इजरायलसम्म तनाव फैलिन सक्ने आकलन गरिएको छ ।
तनावकै कारण अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य बढेको छ । बेन्चमार्क ब्रेन्ट क्रुड प्रतिब्यारेल करिब ७० डलरमा कारोबार भइरहेको छ । इरानले अघिल्लो चरणको तनावका बेला होर्मुज जलडमरूमध्यमा अस्थायी अवरोध सिर्जना गरेको जनाएको थियो ।
होर्मुज जलडमरूमध्यबाट विश्वको झन्डै पाँचौँ भाग व्यापारिक तेल आपूर्ति हुने गर्छ ।









