काठमाडाैं । धादिङको बेनीघाट रोराङ गाउँपालिका–५ भैँसीगौडामा आज बिहान दुर्घटनामा परेको बस पोखराबाट ३४ जना यात्रु लिएर काठमाडौँतर्फ प्रस्थान गरेको खुलेको छ । उक्त भयानक दुर्घटनामा परी १७ जनाको मृत्यु हुनुका साथै २४ जना घाइते भएका छन् ।
पृथ्वी राजमार्ग बस सञ्चालक समितिका अनुसार ग १ ख १४२१ नम्बरको उक्त बस आइतबार साँझ ७ बजे पोखराको पर्यटक बसपार्कबाट काठमाडौँका लागि छुटेको थियो । समितिका अध्यक्ष ऐनबहादुर साईले पोखराबाट छुट्दा बसमा ३४ यात्रुसहित एक चालक र दुई सहचालक गरी जम्मा ३७ जना सवार रहेको जानकारी दिए ।
“पोखराबाट छुट्दा चालक र कर्मचारीसहित बसमा ३७ जना सवार थिए । तर मृतक र घाइतेको सङ्ख्या (४१ जना) हेर्दा बीच बाटोबाट अन्य यात्रु पनि चढेको अनुमान गरेका छौँ,” अध्यक्ष साईले भने ।
दुर्घटनाको विस्तृत विवरण र मृतकहरूको सनाखत हुने क्रम जारी रहेको प्रहरीले जनाएको छ । घाइतेहरूको स्थानीय अस्पताल तथा काठमाडौँमा उपचार भइरहेको छ ।









