काठमाडौँ। कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले कुनै पनि किसिमका मत सर्वेक्षण नगर्न सञ्चारमाध्यमसँग अनुरोध गरेका छन् । दशौँ निर्वाचन दिवसका अवसरमा आज निर्वाचन आयोगले आयोजना गरेको कार्यक्रममा उनले मत सर्वेक्षणलाई निर्वाचन आचारसंहिताले निषेध गर्ने भएकाले यस्ता घटना भए कारबाही गरिने बताए ।
निर्वाचनका समयमा सत्य समाचारलाई झुट र झुट समाचारलाई सत्य बनाएर प्रस्तुत गर्नसक्ने भएकाले पनि सचेत हुन कार्यवाहक प्रमुख निर्वाचन आयुक्त भण्डारीले आग्रह गरे । “राजनीतिक दलका समर्थकले पनि निर्वाचन आचारसंहिता पालना गरेर निर्वाचन गराउनतिर लाग्नुस्, सामाजिक सञ्जाल प्रयोग गरेर कसैलाई मानमर्दन नगरौँ, सत्य र तथ्यमा आधारित भई काम गरौँ, निर्वाचनमा सामाजिक सञ्जाल पेचिलो विषय भएकाले यसको प्रयोग गर्दा ध्यान दिऔँ”, उनले भने ।
कसैको दबाब र प्रभावमा नपरी सही प्रतिनिधि छान्न उनले मतदातालाई पनि आह्वान गरे । सुरक्षाको बैठक गरेर निर्वाचन सुरक्षाका विषयमा नीति र रणनीति तय गर्न लागिएको जानकारी पनि कार्यवाहक प्रमुख आयुक्त भण्डारीले सो अवसरमा गराएका थिए ।
निर्वाचन आचारसंहिता बाहिर गएर प्रचारप्रसार गरे जिल्लाजिल्लामा निर्वाचन अधिकृतको कार्यालयले कारबाही गर्ने भएकाले सचेत हुन पनि उनले ध्यानाकर्षण गराए । पर्यवेक्षण गर्नेले तोकिएका काम मात्र गनुपर्नेमा आयोगले सचेत गराएको छ ।
धेरै भन्दा धेरै मत खसाल्न लगाउने र खसेका मत सबै सदर गराउने गरी काम गर्न उनले मतदाता शिक्षामा संलग्न स्वयंसेवक, निर्वाचन प्रक्रियामा खटिएका कर्मचारी, सुरक्षाकर्मी र सम्बद्ध सबैमा अनुरोध गरे । निर्वाचनमा सानो गल्तीले पनि ठूलो समस्या आउन सक्ने भएकाले उच्च मनोबलका साथ सचेत भएर काम गर्नुपर्नेमा कार्यवाहक प्रमुख निर्वाचन आयुक्त भण्डारीले जोड दिए ।
आयोगका सचिव कृष्णबहादुर राउतले फागुन २१ गतेको निर्वाचनका लागि जिल्लाजिल्लामा मतदान अधिकृत तोक्ने र तालिम दिने काम भइरहेको जानकारी गराए । निर्वाचन शिक्षासम्बन्धी धेरै विषय आयोगले वेबसाइट र आयोगको आधिकारिक सामाजिक सञ्जालका पृष्ठबाट राखिरहेको पनि उनले उल्लेख गरे ।
अहिले देशभरका छ हजार ७४३ वटै वडामा मतदातालाई शिक्षा दिने काम भइरहेको सचिव राउतले जानकारी दिए । निर्वाचनलाई पारदर्शी बनाउन यसपटक आयोगले खर्च व्यवस्थापन कार्यविधि पारित गरी राजनीतिक दल र उम्मेदवारले पनि निर्वाचन प्रयोजनका लागि छुट्टै खाता खोल्नुपर्ने व्यवस्था गरेको जानकारी उनले उल्लेख गरे ।
आयोगका सहसचिव एवं प्रवक्ता नारायणप्रसाद भट्टराईले २०१५ साल फागुन ७ गते नेपालमा पहिलोपटक निर्वाचन भएको सम्झनामा आयोगले २०७३ साल फागुन ७ गतेदेखि निर्वाचन दिवस मनाउन थालेको जानकारी दिए । पहिलोपटक नागरिकले मत हालेर सार्वभौम भएको दिनको स्मरणमा आयोगले प्रत्येक वर्ष फागुन ७ गते यो दिवस मनाउन थालेको उनले उल्लेख गरे ।









