समय : ११:५६ am | बुधबार , माघ २१ गते २०८२

वैदेशिक लगानी प्रतिबद्धता दोब्बर-तेब्बरले घट्यो

अर्थ विशेष | मंसिर १ गते २०८२

काठमाडौं । नेपाली अर्थतन्त्रमा जेन-जी ‘विद्रोह’को गम्भीर र नकारात्मक प्रभाव पर्न थालेको देखिएको छ । जेन-जी ‘विद्रोह’को नकारात्मक प्रभाव नेपालमा आउने वैदेशिक लगानीको क्षेत्रमा पर्न पुगेको देखिएको हो ।

भदौ २३ र २४ गते भएको जेन-जी ‘विद्रोह’ पछिको दुई महिना नेपालको औद्योगिक क्षेत्रमा आउने वैदेशिक लगानी प्रतिबद्धता दोब्बर-तेब्बरले घट्दै गएको देखिएको हो ।

उद्योग विभागले प्रकाशन गरेको तथ्याङ्कले कात्तिक महिनामा नेपालमा वैदेशिक प्रतिबद्धता खुम्चिएर जम्मा १ अर्ब ५४ करोड ३९ लाख रुपैयाँमा सीमित भएको देखाएको छ । यस्तो लगानी प्रतिबद्धता असोज महिनामा २ अर्ब ४ करोड ५७ लाख ३२ हजार रुपैयाँ बराबर रहेको थियो ।

भदौको अन्तिम सातामा नेपालमा जेनजी आन्दोलन भएकाले भदौ महिनामा नेपालमा वैदेशिक लगानी प्रतिबद्धता ८ अर्ब ९८ करोड ७० लाख १९ हजार रुपैयाँ बराबर आएको थियो । जुन लगानी प्रतिबद्धता साउन महिनाको तुलनामा भने तीन गुणाले कम हो ।

चालु आर्थिक वर्षको साउन महिनामा २४ अर्ब १० करोड ४९ लाख ९५ हजार रुपैयाँ विदेशी लगानी प्रतिबद्धता आएको थियो । चालु आर्थिक वर्षको ४ महिनामा ३६ अर्ब ६८ करोड १६ लाख ८६ हजार रुपैयाँ बराबरको विदेशी लगानी प्रतिबद्धता आएको छ ।

उद्योग विभागका अनुसार समीक्षा अवधिमा ७ वटा ठूला उद्योग, मध्यम स्तरका ६ वटा उद्योग र ३६९ वटा साना उद्योगमा विदेशी लगानी प्रतिबद्धता आएको छ । लगानी प्रतिबद्धता आएको मध्ये सबैभन्दा धेरै सूचना प्रविधि क्षेत्रमा ५४ प्रतिशत र पर्यटन क्षेत्रमा ३१ प्रतिशत रहेको छ ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्