भृकुटीमण्डप महोत्सवमा स्थानीय उत्पादनमा अवलोकनकर्ताको आकर्षण

काठमाडौं । राजधानीको भृकुटीमण्डपमा जारी नेपाल १७औं अन्तर्राष्ट्रिय औद्योगिक व्यापार मेला तथा घरेलु उद्योग महोत्सवमा महका परिकार, प्राकृतिक रेशाजन्य उत्पादन, स्थानीयका खाना परिकार तथा मौलिक उत्पादनहरुमा अवलोकनकर्ता तथा उपभोक्ताहरुको आकर्षण देखिएको छ ।स्वदेशी उत्पादनको प्रवर्द्धन गर्ने उद्देश्यले वैशाख २६ देखि राजधानीको प्रदर्शनीमार्गस्थित भृकुटीमण्डप परिसरमा जारी रहेको छ । प्रदर्शनीमा महका परिकार, अल्लो, सिस्नो, केरा, गाँजा, बाँस, केतुकी, भूँइकटहरलगायतका प्राकृतिक रेशाबाट बनेका कपडाका उत्पादन, मह, कर्णाली तथा हिमाली क्षेत्रका मौलिक परिकार लगायतको उत्पादन उपभोक्तको आकर्षण देखिन्छ ।काठ/ढुंगा/धातु कला, सेरामिक्स, भाँडाकुँडाहरु बाँस, वेतबाँस आदिबाट निर्मित सजावटका सामानहरु, गलैंचा, राडीपाखी पश्मिनाका वस्तुहरु तथा अन्य ऊनी कपडाहरु, अल्लो, लोक्ता, जुट नेपाली हाते कागजका वस्तुहरु, परम्परागत हस्तकलाका सामानहरु, अर्गानिक मह, कृषि लगायतका स्टलमा उपभोक्ताको भिड देखिन्छ । मुलुकभरका झण्डै छ लाख भन्दा बढी लघु, घरेलु तथा साना उद्योगहरु र कृषि तथा मह व्यवसायमा संलग्न उद्यमीहरुलाई प्रतिविम्वित गर्ने प्रदर्शनीको मुख्य नारा ‘खोजौं नेपाली, रोजौं नेपाली’ र ‘नेपाली वस्तु प्रयोग गरौं, नेपाली भएकोमा गर्व गरौं’ भन्ने रहेको छ । प्रदर्शनी आइतबारसम्म चल्नेछ ।