गण्डकी ।ढुंगा र जस्ताले छाएका गुजुमुज्ज घरहरु, ढुंगाले छापिएका चोक र बाटो । प्राचीन मौलिक गुरुङ संस्कृतिको जीवन्त सङ्ग्रहालयझैँ छ, लमजुङको क्व्होलासोथार गाउँपालिका-४ स्थित भुजुङ । एउटै वडा एउटै गाउँ हो भुजुङ ।
जिल्लाकै ठूलो र सिरान गाउँको रुपमा परिचित भुजुङ समुद्री सतहदेखि करिब एक हजार ६०० मिटरको उचाइमा छ । गाउँको उत्तरतर्फ घना जङ्गल, घाँसे मैदान र खर्कका साथै लमजुङ हिमाल, अन्नपूर्ण हिमाल देखिन्छ । गुरुङ समुदायका परम्परागत रीतिरिवाज, वेषभूषा, भाषा, संस्कृति र पहिचानलाई जीवन्त राखिएको भुजुङ समाजका पूर्व अध्यक्ष तथा घरबास सञ्चालक रामचन्द्र गुरुङले बताए ।
उनले प्राचीन शैलीका घुमाउने घर जस्ता संरचनाले यहाँ आउने जो कोही लोभिने बताए । कूल ५०० घरधुरी रहेको यस गाउँमा ३३ घरमा घरबास सञ्चालन गरिएका छन् । भुजुङ सामुदायिक होमस्टेका अध्यक्ष तुलबहादुर गुरुङका अनुसार गाउँमा २०६३ सालदेखि घरबास सञ्चालन गरिएको हो । हाल घरबासमा दैनिक ५० देखि ६० जना पर्यटक आउने गर्छन् ।
पर्यटकलाई स्थानीयले आतिथ्यतासँगै कोदोको ढिँडो, सिस्नो, गुन्द्रुक, निउरो, कुरिलो, पिँडालुका परिकार र कोदोको रक्सी, खसी कुखुराको मासु ख्वाउने गरेका छन् । स्थानीयले भुजुङलाई लुकेको गाउँसमेत भन्न रुचाउँछन् ।