समय : ०७:०९ pm | आइतबार , श्रावण १७ गते २०८३

स्थानीयवासीलाई जलविद्युतको सेयर अंकित मूल्यमै दिन इप्पानको माग

अर्थ विशेष | श्रावण १७ गते २०८३

काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) ले जलविद्युत आयोजनाबाट प्रत्यक्ष प्रभावित स्थानीयवासीलाई निष्कासन गरिने सेयर अंकित मूल्य अर्थात् प्रति कित्ता एक सय रुपैयाँमा नै उपलब्ध गराउनुपर्ने माग गरेको छ ।

आइतबार एक प्रेस विज्ञप्ति जारी गर्दै इप्पानले केही प्रवर्द्धक कम्पनीहरूले स्थानीय प्रभावितका लागि प्रिमियम मूल्यमा सेयर निष्कासन गर्ने विकल्पबारे छलफल गरिरहेको विषयप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

धितोपत्र दर्ता तथा निष्कासन नियमावली, २०७३ को नियम ९ (४) अनुसार स्थानीयलाई लाभान्वित गराउने उद्देश्यले १० प्रतिशत सेयर दिने कानुनी प्रबन्ध रहेको स्मरण गराउँदै इप्पानले सोही अनुसार अंकित मूल्यमै सेयर दिन सम्पूर्ण सदस्यहरूलाई अनुरोध गरेको छ ।

इप्पानका अनुसार जलविद्युत आयोजना निर्माणका क्रममा जग्गा उपलब्ध गराउने, वातावरणीय तथा सामाजिक प्रभाव सहने र निर्माण अवधिभरका असुविधा व्यहोर्ने स्थानीय समुदायलाई आयोजनाको वास्तविक साझेदार बनाउनु आवश्यक छ ।

यदि स्थानीयलाई प्रिमियम मूल्यमा सेयर निष्कासन गरिएमा उनीहरूको पहुँच सीमित हुने, अपनत्वको भावना कमजोर हुने र आयोजना र समुदायबीचको विश्वासको सम्बन्धमा नकारात्मक असर पर्ने ठहर इप्पानले गरेको छ ।

अंकित मूल्यमा सेयर उपलब्ध गराउँदा स्थानीय स्तरमा सहयोग र सहकार्य सुदृढ हुने, सामाजिक विवाद र अवरोधहरू न्यून हुने तथा आयोजनाहरू समयमै सम्पन्न गर्न सहज वातावरण निर्माण हुने विश्वास विज्ञप्तिमा व्यक्त गरिएको छ । यसबाट स्थानीयको आर्थिक सशक्तीकरण र सामाजिक सद्भावमा समेत टेवा पुग्ने इप्पानको भनाइ छ ।

इप्पानले नेपाल सरकार र सम्बन्धित नियामक निकायहरूलाई स्थानीय प्रभावितको हित र आयोजनाको दीर्घकालीन स्थायित्वका लागि अंकित मूल्यमा सेयर उपलब्ध गराउने नीतिलाई निरन्तरता दिन आग्रह गरेको छ ।

साथै, साधारण सेयर निष्कासन प्रक्रिया लामो समयदेखि प्रभावित हुँदा प्रवर्द्धकहरूले समस्या भोगिरहेको तर्फ ध्यानाकर्षण गराउँदै इप्पानले यस प्रक्रियालाई सरल, पारदर्शी र समयबद्ध बनाउन माग गरेको छ ।

प्रेस विज्ञप्ति मार्फत इप्पानका अध्यक्ष मोहनकुमार डाँगीले सेयर निष्कासनमा भइरहेको ढिलाइ समाधानका लागि समयमै सेयर निष्कासन गर्ने परिपाटी विकास गर्न सरकार र सरोकारवाला निकायहरूसँग विशेष आग्रह गरेका छन् ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्