समय : १०:१४ am | मङ्गलबार , असाेज २७ गते २०८३

पोखरामा दसैँका लागि भेडाच्याङग्रा बिक्री गर्न हाटबजार सञ्चालन

अर्थ विशेष | असाेज २७ गते २०८३

बडादसैँलाई लक्षित गरी पोखरामा १४ हजार ८०० भेडाच्याङ्ग्रा भित्रिएका छन्। हिमाली जिल्ला मुस्ताङसहित दार्चुला, बझाङ, बाजुरा र डोल्पाबाट व्यापारीले बिक्रीका लागि भेडाच्याङग्रा यहाँ ल्याएका हुन्। पोखरा महानगरपालिका-१ सिमपानी र पोखरा-२५ हेमजामा भेडाच्याङग्राको हाटबजार सञ्चालनमा छ।

पोखरा महानगरपालिका पशु सेवा शाखाका पशु चिकित्सक नवराज अधिकारीका अनुसार मुस्ताङबाट नौ हजार, दार्चुलाबाट दुई हजार, बझाङबाट एक हजार ८०० तथा बाजुरा र डोल्पाबाट एक-एक हजार भेडाच्याङग्रा पोखरा ल्याइसकिएको छ। अझै केही भेडाच्याङग्रा बाटोमै रहेकाले फूलपातीभन्दा एक-दुई दिन अगाडिसम्म बजारमा आइपुग्ने उनले जानकारी दिए।

गण्डकी प्रदेशका अन्य जिल्लाबाट समेत स्थानीय भेडा बिक्रीका लागि पोखरा ल्याउने गरिन्छ। पशु चिकित्सक अधिकारीले भने, 'दसैँका लागि पोखरामा भेडाच्याङग्रा आइसकेका छन्। कतिपय व्यापारीले हाटबजारमा ल्याइसकेका छन् भने धेरैले पोखरावरपरका चरन क्षेत्रमा राखेका छन्। ती भेडाच्याङग्रा एक-दुई दिनमा हाटबजारमा ल्याउने जानकारी पाएका छौँ।'

यसैबीच, पशु सेवा शाखा, भेटेरिनरी अस्पताल तथा पशु सेवा कार्यालय कास्की र पशु क्वारेन्टाइन कार्यालय पोखराको संयुक्त टोलीले भेडाच्याङग्राको स्वास्थ्य अवस्था तथा बिक्री वितरणको अनुगमन सुरु गरेको छ। अनुगमनका क्रममा अधिकांश भेडाच्याङग्रा स्वस्थ पाइएको टोलीले जनाएको छ। फूलपातीका दिनसम्म निरन्तर अनुगमन गरिने जनाइएको छ।

व्यापारीले भेडाच्याङग्रा ल्याउने क्रममा सम्बन्धित जिल्लाका पशु सेवा कार्यालयबाट भेटेरिनरी निरीक्षकले स्वास्थ्य परीक्षण गरी प्रमाणपत्र दिएपछि ढुवानी गर्ने व्यवस्था रहेको छ। अनुगमनका क्रममा बिरामी पशु भेटिएमा अन्य पशुबाट अलग राख्न आइसोलेसनको व्यवस्था गरिएको छ।

भेटेरिनरी अस्पताल तथा पशु सेवा कार्यालय कास्कीका प्रमुख डा ग्रिष्म न्यौपानेले चाडपर्वका समयमा धेरै संख्यामा पशु भित्रिने भएकाले स्वास्थ्य अवस्था, रोगको जोखिम र बिक्री वितरणलाई ध्यानमा राखेर संयुक्त अनुगमन गरिएको बताए। उनले उपभोक्तालाई भेडाच्याङग्रा खरिद गर्दा स्वास्थ्य अवस्थाबारे ध्यान दिन आग्रह गरे। सामान्य अवस्थामा श्वासप्रश्वासको गति नबढेको, र्‍याल नकाढेको र चिल्लो रौँ भएको च्याङ्ग्रा छनोट गर्न उनको सुझाव छ। 'लामो समय हिँडाएर वा गाडीमा ल्याइएका भेडाच्याङग्रालाई एक-दुई दिनअघि नै खरिद गरेर लैजानु र बध गर्नुभन्दा कम्तीमा २४ घण्टाअघि घरमा ल्याउनु राम्रो हुन्छ।' डा. न्यौपानेले भने।

पोखराको हाटबजारमा च्याङग्रा प्रतिकेजी एक हजार २५० रुपैयाँसम्म र भेडा प्रतिकेजी ७०० रुपैयाँमा बिक्री भइरहेको महानगरपालिकाको पशु सेवा शाखाले जनाएको छ।

हिमाली क्षेत्रमा चिसो हावापानीमा हुर्किएका च्याङग्राको मासुको माग दसैँका बेला पोखरा तथा आसपासका क्षेत्रमा उच्च हुने गर्दछ। पोखरामा भेडाच्याङ्ग्राका अतिरिक्त सुर्खेत, अर्घाखाँची, दाङ, पाल्पा र तनहुँलगायतका जिल्लाबाट समेत ठूलो संख्यामा खसीबोका ल्याएर बिक्री गर्ने गरिन्छ। मुगुका व्यापारी नवराज देवकोटाले हुम्लाबाट ११ दिन लगाएर च्याङग्रा पोखरा ल्याइपुर्‍याएको बताए। उनका अनुसार केही स्थानमा पैदल हिँडाएर र केही ठाउँमा गाडीमा राखेर ल्याइएको हो। यस वर्ष अविरल वर्षा र पहिरोका कारण ढुवानीमा विगतका वर्षभन्दा बढी कठिनाइ भोग्नुपरेको उनले बताए।

उनले भने, 'यसपटक कहिले पानीले सतायो, कहिले बाढीले समस्या भयो। पहिले बजार राम्रो थियो, अहिले बजार पनि राम्रो छैन।' बाटोमा विभिन्न स्थानीय तह तथा पशु सेवा कार्यालयमा तिर्नुपर्ने शुल्क र चरनका लागि समेत रकम खर्च गर्नुपर्ने भएकाले च्याङग्राको मूल्य महँगो पर्ने गरेको उनको भनाइ छ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्