समय : ११:१० am | बिहिबार , असाेज ८ गते २०८३

तनहुँमा ११ हजार एक सय ३४ उद्योग

अर्थ विशेष | असाेज ८ गते २०८३

तनहुँ । तनहुँमा हालसम्म ११ हजार १३४ उद्योग दर्ता भएका छन् । एकीकृत सेवा कार्यालयका अनुसार आर्थिक वर्ष २०८२\८३ सम्म जिल्लामा रहेका उद्योगमध्ये गत आर्थिक वर्षमा मात्रै ३४३ नयाँ उद्योग थपिएका छन् ।

एकीकृत सेवा कार्यालयका सहायक प्रशासकीय अधिकृत सूर्यबहादुर थापाका अनुसार जिल्लामा रहेका उद्योगमध्ये सबैभन्दा बढी घरेलु उद्योग छन् । उहाँका अनुसार हाल तनहुँमा सात हजार ३२९ घरेलु, तीन हजार ६५० साना, १४९ लघु र एउटा मझौला उद्योग सञ्चालनमा छन् ।

नयाँ उद्योग थपिने क्रमसँगै सञ्चालनमा रहेका उद्योग तथा व्यवसाय खारेज हुने क्रम पनि देखिएको छ । थापाका अनुसार आर्थिक वर्ष २०८२/८३ मा मात्रै उद्योगतर्फ २५० र वाणिज्यतर्फ २३४ गरी ४८४ फर्म तथा उद्योग खारेजीमा परेका छन् ।

कार्यालयको तथ्याङ्कअनुसार नयाँ उद्योग दर्ता र पुराना उद्योग खारेजी दुवै प्रक्रिया जिल्लाको औद्योगिक तथा व्यावसायिक गतिविधिको नियमित हिस्सा बनेका छन् । एकातर्फ नयाँ उद्यमी थपिँदै जाँदा अर्कोतर्फ विभिन्न कारणले उद्योग तथा व्यवसाय बन्द गर्ने क्रम देखिएको हो ।

सहायक प्रशासकीय अधिकृत थापाका अनुसार उद्योग दर्ता, नवीकरण, नामसारी तथा खारेजीलगायतका सेवा कार्यालयबाट प्रदान हुँदै आएका छन् । पछिल्लो तथ्याङ्कले तनहुँमा साना तथा घरेलु उद्यममा आधारित आर्थिक गतिविधिको हिस्सा ठूलो रहेको देखाएको छ ।

गत आर्थिक वर्षमा थपिएका ३४३ वटा उद्योग साना उद्योग हुनुले जिल्लामा ठूलो लगानीका उद्योगभन्दा सानो पुँजीमा सञ्चालन गर्न सकिने उद्यमतर्फ आकर्षण बढी रहेको देखिन्छ । यस्ता उद्योगले स्थानीयस्तरमा रोजगारी सिर्जना गर्नुका साथै उत्पादन तथा सेवा क्षेत्रमा योगदान पु¥याउने गरेको उनको भनाइ छ ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्