काठमाण्डौ । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले संस्थापक र सर्वसाधारण सेयरधनीको स्वामित्व अनुपात परिवर्तन गर्ने भएको छ। कम्पनीले हाल कायम रहेको ७०ः३० को स्वामित्व अनुपातलाई परिवर्तन गरी ६०ः४० कायम गर्ने प्रस्ताव आगामी वार्षिक साधारण सभामा लैजाने निर्णय गरेको छ।
कम्पनीको भदौ २६ गते बसेको १३३औँ सञ्चालक समिति बैठकले नेपाल बीमा प्राधिकरणबाट जारी बीमकको संस्थापक शेयर कारोबार सम्बन्धी निर्देशिका, २०७७ को दफा ५ बमोजिम आवश्यक कानूनी प्रक्रिया पूरा गरी सेयर स्वामित्व परिवर्तन गर्ने निर्णय गरेको हो।
हाल कम्पनीमा संस्थापक सेयरधनीको स्वामित्व ७० प्रतिशत र सर्वसाधारण सेयरधनीको स्वामित्व ३० प्रतिशत रहेको छ। प्रस्तावित परिवर्तनपछि संस्थापक सेयरधनीको हिस्सा घटेर ६० प्रतिशत तथा सर्वसाधारण सेयरधनीको हिस्सा बढेर ४० प्रतिशत कायम हुनेछ।
कम्पनीले स्वामित्व अनुपात परिवर्तनका लागि नेपाल बीमा प्राधिकरणलगायत सम्बन्धित नियामक निकायबाट आवश्यक स्वीकृति लिने जनाएको छ। नियामकीय स्वीकृति तथा आवश्यक कानुनी प्रक्रिया पूरा गरेपछि प्रस्ताव आगामी वार्षिक साधारण सभामा पेस गरिनेछ।
सञ्चालक समितिले उक्त प्रस्ताव सर्वसम्मत रूपमा पारित गरेको कम्पनीले जनाएको छ। प्रस्ताव साधारण सभाबाट पारित भई कार्यान्वयनमा आएमा सिटिजन लाइफ इन्स्योरेन्सको सेयर स्वामित्व संरचनामा महत्वपूर्ण परिवर्तन हुनेछ।










