काठमाडौं । सरकारले काठमाडौँ विश्वविद्यालयको रजिस्ट्रार पदमा विराजसिंह थापालाई नियुक्त गरेको छ ।
विश्वविद्यालयका उपकुलपतिको सिफारिसका आधारमा प्रधानमन्त्री तथा विश्वविद्यालयका कुलपति वालेन्द्र शाहले थापालाई रजिस्ट्रार नियुक्त गरेका हुन् । नवनियुक्त रजिस्ट्रार थापाले बुधबार शिक्षा तथा खेलकुद मन्त्रालयमा आयोजित कार्यक्रममा पद तथा गोपनीयताको शपथ लिएका छन् ।
थापा काठमाडौं विश्वविद्यालयमा विगत २२ वर्षदेखि सहप्राध्यापकका रूपमा कार्यरत थिए। उनले नर्वेबाट ‘हाइड्रोपावर’ विषयमा विद्यावारिधि गरेका छन् ।
शपथ ग्रहण कार्यक्रममा शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले विश्वविद्यालय सुधारका लागि टिमवर्क र सक्रियताका साथ काम गर्न नवनियुक्त पदाधिकारीलाई निर्देशन दिए । उनले काठमाडौं विश्वविद्यालयलाई विशिष्टीकृत ढङ्गको ट्रस्टी मोडलमा स्थापित गर्ने प्रक्रिया अघि बढाउन आवश्यक रहेको बताए ।
मन्त्री पोखरेलले नेपालको उच्च शिक्षा सुधारका लागि सबै विश्वविद्यालयबीच बलियो समन्वय र सहकार्य आवश्यक रहेको उल्लेख गरे । उनले काठमाडौं विश्वविद्यालयलाई अन्य विश्वविद्यालयभन्दा फरक पहिचानसहित अघि बढाउनुपर्ने बताउँदै कक्षा १२ पछि विदेश जान तयारी गरिरहेका विद्यार्थीलाई नेपालमै गुणस्तरीय शिक्षा उपलब्ध गराउन विश्वविद्यालयको महत्वपूर्ण भूमिका रहेको बताए ।
कार्यक्रममा शिक्षा मन्त्रालयका सचिव चूडामणि पौडेलले विश्वविद्यालयको रूपान्तरणसँगै कामलाई परिणाममुखी बनाउन नवनियुक्त पदाधिकारीले महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे ।










