काठमाडौं । भोटेकोशी बाढीबाट प्रभावित नागरिकको राहत, उद्धार तथा पुनःस्थापनाका लागि अर्घाखाँची सिमेन्ट प्रालिले रु एक करोड ११ लाख सहयोग गरेको छ । कम्पनीका अध्यक्ष पशुपति मुरारका तथा प्रबन्ध निर्देशक राजेश अग्रवालले संयुक्त रूपमा उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषका लागि अर्थमन्त्री स्वर्णिम वाग्लेलाई हस्तान्तरण गरेका हुन ।
प्राकृतिक विपद्का कारण विभिन्न जिल्लामा ठूलो जनधनको क्षति भइरहेका बेला प्रभावित नागरिकको राहत तथा उद्धारमा सहयोग पुर्याउने उद्देश्यले उक्त रकम प्रदान गरिएको कम्पनीले जनाएको छ । विपद्को समयमा निजी क्षेत्रको सामाजिक उत्तरदायित्व महत्त्वपूर्ण हुने उल्लेख गर्दै उनीहरूले प्रभावित नागरिकको सहयोगका लागि सरकार, निजी क्षेत्र तथा सामाजिक सङ्घसंस्था एकजुट भएर अघि बढ्नुपर्नेमा जोड दिएका छन्।
अर्घाखाँची सिमेन्टले विपद् तथा सङ्कटका समयमा पीडित नागरिकको सहयोगलाई प्राथमिकतामा राख्दै आगामी दिनमा पनि सामाजिक उत्तरदायित्वअन्तर्गत आवश्यक सहयोगलाई निरन्तरता दिने जनाएको छ ।









