पाटन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले विधि र कानुन बनाउँदा जनताको हित र भावनालाई केन्द्रमा राख्नुपर्नेमा जोड दिएका छन् ।
पार्टीको प्रशिक्षण विभागले सांसदहरूका लागि आयोजना गरेको प्रशिक्षणको समापन समारोहमा आज उहाँले सामाजिक प्रतिष्ठालाई सफलताको मानक बनाउनेभन्दा कानुन बनाउने जिम्मेवारी लाग्न निर्देशनसमेत दिए ।
सभापति लामिछानेले देशमा रहेका समस्या समाधानका लागि अध्यादेश ल्याइएको र पार्टी नेतृत्वको सरकार जनताको हितभन्दा बाहिर नजाने प्रष्ट पारे। “सरकारले सोचेर कदम चालिरहेको छ, आजसम्म सरकारले गरेका निर्णयबाट दुःख मनाउन गर्नुपर्ने अवस्था छैन”, उनले भने,“कतिपय कानुन निर्माणलाई ‘फास्ट ट्र्याक’मा लिएर जान अध्यादेश ल्याइएको हो । नीतिगत कमजोरी सुधार र विकासका काममा गति दिन अध्यादेश ल्याइएकाले देश र नागरिकलाई अप्ठ्यारो पर्ने कुनै निर्णय गरेका छैनौँ । हामी जनताको माया र देशको भविष्यप्रति चिन्तित छौँ ।”
सभापति लामिछानेले नेपाली जनताले परिवर्तनका लागि रास्वपालाई जनमत दिएको भन्दै चुनाव जित्दैमा सर्वगुण सम्पन्न छौँ भनेर नसोच्न सांसदहरूलाई आग्रह गरे। उनले विगतमा अन्य राजनीतिक दलले अनवरत सङ्घर्ष गरेर परिवर्तन ल्याएको उल्लेख गर्दै अब जनताको अवस्था बदल्ने जिम्मेवारी आफूहरूको काँधमा आएकाले सोहीअनुसार काम गर्नुपर्नेमा जोड दिए ।
कानुन बनाउँदा जनताको हित र भावनालाई केन्द्रमा राखौँः सभापति लामिछाने










