मङ्गलबारे । इलामको माईजोगमाई गाउँपालिकाले रैथाने बाली संरक्षण गर्न कोदोको पिठोबाट बिस्कुट बनाउने पालिकावासीलाई अनुदान दिन थालेको छ । उपाध्यक्षसँग युवा यद्यमी कार्यक्रमअन्तर्गत पालिकाबासीलाई अनुदान दिन सुरु गरेको हो ।
अनुदान पाएर हाल एक जना महिलाले गाउँपालिकाको नयाँबजारमा कोदो पिठोबाट बिस्कुट उत्पादन गर्न थालेकी छन् । नयाँबजारकी पार्वती भट्टराईले कोदोको पिठोबाट बिस्कुट उत्पादन सुरु गरेकी हुन् । ‘ओभन मेसिन’मा पकाएर कोदोको पिठोबाट बिस्कुट उत्पादन सुरु गरेको उनको भनाइ छ ।
उद्यमी भट्टराईले उद्योग नै सञ्चालन गरेर यसको उत्पादन सुरु गरेकी हुन् । भट्टराई ‘कोदोको बिस्कुट तथा बेकरी उद्योग’ नाम दिएर उद्योग स्थापना गरेको उनले बताइन् ।
तयारी कोदो फल्ने, पिस्ने र मह वा चिनी एवं केही मैदा मिसाएर गोलो आकारको बनाएर ओभन मेसिनमा पकाएपछि ड्रायरमा सुकाएर यसलाई तयार गर्ने गरिएको छ । उत्पादन सुरु भरेको भर्खरै मात्र भएर हाल स्थानीय बजारका साथै घुम्न आउने पर्यटक र पाहुनाहरूले कोसेलीका रूपमा बिस्कुट लैजाने गरेको उनको भनाइ छ ।










