समय : ११:२५ am | आइतबार , वैशाख २० गते २०८३

गाउँमै चिस्यान केन्द्र सञ्चालन भएपछि कृषक उत्साहित

अर्थ विशेष | वैशाख २० गते २०८३

पर्वत । पर्वतको मोदीमा जिल्लामै पहिलोपटक चिस्यान केन्द्र सञ्चालन गरिएको छ । गण्डकी प्रदेश सरकारको आर्थिक सहयोग र मोदी गाउँपालिकाको साझेदारीमा गाउँपालिका–६ तिलाहारस्थित पहरेमा निर्माण गरिएको चिस्यान केन्द्र झन्डै एक वर्षको यान्त्रिक परीक्षणपछि आइतबारदेखि सञ्चालनमा ल्याइएको हो । चिस्यान केन्द्र सञ्चालनमा आएसँगै कृषकले कृषि उपज भण्डारण गर्न थालेको मोदी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बाबुराम पुरीले जानकारी दिए ।

उपभोक्ता समितिमार्फत ३३ लाख रुपैयाँको लागतमा चिस्यान केन्द्र निर्माण गरिएको हो । ३० मेट्रिक टन क्षमता रहेको चिस्यान चालु आर्थिक वर्ष २०८२/८३ को असार मसान्त सम्म नि:शुल्क रूपमा भण्डारण गर्ने सुविधा दिइएको मोदी गाउँपालिका–६ का वडा अध्यक्ष दीपेन्द्रजंग लामिछानेले जानकारी दिए । उनका अनुसार गाउँपालिकाभित्रका कृषकलाई कृषिउपज संकलन तथा भण्डारणका लागि पहिलो प्राथमिकता दिइने भएको छ भने क्षमता र आवश्यकताको आधारमा अन्य क्षेत्रका कृषकले समेत उपभोग गर्न पाउने भएका छन् ।

कृषिउपज भण्डारणका लागि व्यक्तिगत किसानले निवेदन र नागरिकताको प्रतिलिपि पेस गर्नुपर्नेछ भने संस्था वा समूहले दर्ता प्रमाणपत्र, निर्णय र निवेदन पेस गर्नुपर्ने व्यवस्था गरिएको लामिछानेले जानकारी दिए । कुनै पनि कृषिउपज भण्डारण गर्नुअघि राम्रोसँग सुकाइएको, रोग–कीरा नलागेको, काटिएको वा नसडेको मात्र भण्डारण गर्न आग्रह गरिएको छ । यतिबेला आलुको सिजन भएकाले आलुलाई साइजअनुसार छुट्याएर जालीदार बोरा वा जुटको बोरा प्रयोग गरी प्याकिङ गरेर भण्डारण गर्न कृषकलाई आग्रह गरिएको वडा अध्यक्ष लामिछानेले जानकारी दिए ।

उनका अनुसार सबै कृषिउपजका लागि प्लास्टिकका बोरा प्रयोग गर्न भने पूर्ण रूपमा निषेध गरिएको छ । गाउँपालिकाले मापदण्ड नपुगेका वा सफा नगरिएका कृषिउपज भण्डारणका लागि स्वीकार नगर्ने जनाएको छ । यो सुविधा कृषकलाई उत्पादन सुरक्षित राख्न र बजार व्यवस्थापनमा सहयोग पुर्‍याउने उद्देश्यले सञ्चालनमा ल्याइएको गाउँपालिकाले जनाएको छ । अब कृषकले बजार पुर्‍याउनुअघि वा बेसिजनमा बिक्री गर्न तथा बिउका लागि प्रयोग गर्ने कृषिजन्य वस्तु चिस्यान केन्द्रमा भण्डारण गरेर लाभ लिन सक्ने गाउँपालिकाका उपाध्यक्ष विमल लामिछानेले बताए ।

यसअघि यस क्षेत्रका कृषकले आलु, फलफूललगायत अन्य कृषिजन्य उपज भण्डारणका लागि पोखरा लैजानुपर्ने बाध्यता हटेर गएको उपाध्यक्ष लामिछानेले बताए । यससँगै पर्वतको जलजला गाउँपालिकाले पनि झन्डै एक करोड लागतमा वडा नं. ८ खनियाँघाटमा चिस्यान केन्द्र निर्माण सम्पन्न गरेको छ । अहिले परीक्षण क्रममा रहेको र केही महिनाभित्र सञ्चालनको तयारी भइरहेको जलजला गाउँपालिकाका अध्यक्ष राजुप्रसाद आचार्यले जानकारी दिए । यसैगरी दक्षिण पर्वतको पैंयु गाउँपालिकाले पनि उपभोक्ता समिति वा कृषि समूहमार्फत चिस्यान केन्द्र सञ्चालनमा ल्याउने तयारी स्वरूप सूचना प्रकाशित गरेको छ ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्