समय : ०१:१६ pm | मङ्गलबार , असार १६ गते २०८३

श्रमजीवी पत्रकारको तलब सुनिश्चितता हुनुपर्नेमा महासङ्घको जोड

अर्थ विशेष | माघ १४ गते २०८२

काठमाडौं । नेपाल पत्रकार महासङ्घले ‘नेपाल रिपब्लिक मिडिया लिमिटेड’ अन्तर्गत प्रकाशित नागरिक दैनिकका श्रमजीवी पत्रकारले पाउनुपर्ने सेवासुविधा नपाएकोमा चिन्ता व्यक्त गर्दै तलब सुनिश्चित गर्न आवश्यक भएकोमा जोड दिएको छ। महासङ्घका वरिष्ठ उपाध्यक्ष दीपक आचार्यसहितको टोलीले आज प्रबन्ध निर्देशक र प्रमुख कार्यकारीको कार्यकक्षमा तालाबन्दी गर्दै पत्रकारले पाउनुपर्ने सेवासुविधा तुरुन्त उपलब्ध गराउन व्यवस्थापनसँग माग गरेको हो। केही घण्टापछि सम्बन्धित पक्ष र स्थानीय सुरक्षा निकायको उपस्थितिमा ताला खुलाइएको थियो।

महासङ्घले प्राप्त उजुरीअनुसार, पत्रकारहरू श्रमजीवी पत्रकार ऐनले तोकेको न्यूनतम पारिश्रमिक र सेवासुविधाबाट वञ्चित हुँदै आएका थिए। नेपाल पत्रकार महासङ्घ, नागरिक प्रतिष्ठान शाखाका अध्यक्ष रघुनाथ लामिछानेका अनुसार लामो समयदेखि सेवा सुविधा नपाएको गुनासो गर्दै विरोध, धर्ना र प्रदर्शन गर्न बाध्य भएको हो। उनले संस्थाले कोभिड–१९ बहानामा करिब ४३ महिनासम्म तलब ५०–७५ प्रतिशत कटौती गरेको कुरा पनि उजागर गरे। रिपब्लिक मिडिया लिमिटेडकी अध्यक्ष शोभा ज्ञवालीले संस्थामा करिब ३०० जना पत्रकार तथा कर्मचारी कार्यरत रहेको बताउँदै, केही कर्मचारी विरोधमा सहभागी भएपनि व्यवस्थापन समस्याको समाधान गर्न तयार रहेको जानकारी दिइन। ज्ञवालीले मुलुकको आर्थिक मन्दीका कारण तलब दिन ढिलाइ भए पनि वास्तविक पीडित पत्रकार र कर्मचारीको न्याय सुनिश्चित गरिने आश्वासन पनि दिइन।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्