दाङ ।जिल्लामा व्यावसायिकरूपमा मौरीपालन गर्ने किसानको सङ्ख्या बढ्दै गएको छ। यहाँको हावापानी राम्रो भएकाले यसमा आबद्ध हुने किसानको सङ्ख्या बढ्दै गएको हो।घोराही उपमहानगरपालिका-१८ सुपैला खुटीका श्रीधन घर्ती मौरीको स्याहारमा व्यस्त छन्। उनले यो काम गर्न थालेको १७ वर्ष पुगिसक्यो। उनले भने, 'सात वर्ष वैदेशिक रोजगारमा गएर फर्केपछि मौरीपालन व्यवसाय गर्न थालेको हुँ। यसमा घरपरिवारको पनि साथ र सहयोग छ।'उमेरले ५८ वर्ष पुगेका घर्तीले घोराही उपमहानगरपालिका-१३ स्थित डुम्बरगाउँमा व्यावसायिकरूपमा मौरीपालन व्यवसाय गर्दै आएका छन्। अहिले घर्तीको मौरीफार्ममा १५० मौरीसहितका घार छन्। उनले यस व्यवसायबाट राम्रो आम्दानी पनि गर्दै आएका छन्। उनले वर्षमा सात टन मह उत्पादन गर्दै आएको बताए।
'परिवारको पनि सहयोग छ, आफैले मौरीपालनका लागि केही ज्ञान लिएपछि व्यावसायिकरूपमा मौरीपालनमा लागेको हुँ, अहिले उत्पादन भएको मह बिक्रीका लागि बजार पुग्न पर्दैन, धेरै जसोले घरबाटै लग्ने गरेका छन्', किसान घर्तीले भने, 'वैदेशिक रोजगारबाट फर्किएपछि यहीँ व्यवसाय सुरु गरेको हुँ, धेरै लगानी पनि नलाग्ने र आम्दानी पनि राम्रो लिन सकिन्छ, आगामी दिनमा पनि मौरीपालन व्यवसायलाई निरन्तरता दिँदै जाने सोच छ।'
मौरीपालन व्यवसायबाट वार्षिक १६ लाख रूपैयाँको कारोबार गरिरहेका घर्तीले सात लाख रूपैयाँ बचत गर्ने गरेको बताए। एक किलोलाई पाँचसय रूपैयाँका दरले बिक्री गर्दै आएको उनले बताए। उनीजस्तै उमेरले ६० वर्ष पुगेका दीपकुमार मगरको दैनिकी पनि विगत दुई दशकदेखि मौरीपालन र मौरीको हेरचाहमै बित्ने गरेको छ। जसबाट आम्दानी पनि राम्रो हुँदै गएको उनी बताउँछन्।
जिल्लाको घोराही उपमहानगरपालिका-१३ तुरुन्तपुर निवासी मगर विगत २६ वर्षदेखि यही व्यवसायमै छन्। मौरीले राम्रै आम्दानी दिँदै आएकाले मौरीपालन व्यवसायमा उत्साह बढ्दै गएको मगरले बताए। मैले व्यावसायिकरूपमा मौरीपालन गर्न थालेको २६ वर्ष भयो। लामो समय भइसक्यो मौरीपालन गर्न थालेको आम्दानी पनि राम्रो भइरहको छ। यसमा घरपरिवारको पनि सहयोग छ।
उनले मौरीपालन पूर्वाधार सामग्री उत्पादनमार्फत पनि व्यवसायका लागि आवश्यक सामग्री उत्पादन गरी छिमेकी जिल्ला रोल्पा, सल्यान, प्युठानलगायतका जिल्लामा समेत आधुनिक प्रकारका सामग्री पठाउने गर्छन्।
मगरको मौरी फार्ममा दुईसय घार क्षमताको भए पनि हाल भने एकसय मौरीसहितका घार छन्। उनले वर्षमा ३५ क्विन्टल मह उत्पादन हुँदै आएको बताए। वर्षाको समय र अत्यधिक चिसो हुने समयमा ख्याल गर्ने हो भने मौरीपालनबाट राम्रो प्रतिफल लिन सकिने भन्दै उनले मह उत्पादन र घार वृद्धि पनि सँगसँगै बढाउँदै लगेको बताए। गुणस्तरीय मह भएकाले अधिकांश मह घरबाटै बिक्री हुने गरेको घर्ती बताउँछन्।
यस्तै, घोराही उपमहानगरपालिका-१८ गिठेपानी निवासी कृष्णबहादुर डाँगी र जानकी डाँगी दम्पतीले मह बिक्री गरेर मासिक एक लाख रूपैयाँभन्दा बढी आम्दानी गर्दै आएका छन् विगत डेढ दशकदेखि मौरीपालनमा संलग्न डाँगी दम्पतीले घोराही-१८ गिठेपानीमै एकसय पाँच घार बढी माहुरी पालेर वार्षिकरूपमा करिब १३ लाख रूपैयाँसम्म आम्दानी गर्दै आएका छन्।
कृषि ज्ञान केन्द्रका सूचना अधिकारी तथा कृषि अर्थविज्ञ पृथ्वीराज लामिछानेका अनुसार जिल्लामा व्यावसायिक मौरीपालन गर्ने किसानको सङ्ख्या पाँचसय भन्दा बढी छ।









