समय : ०१:२४ pm | सोमबार , वैशाख ७ गते २०८३

अर्घाखाँचीमा तीन हजार ११८ हेक्टर जमिनमा सिँचाइ सुविधा

अर्थ विशेष | श्रावण २३ गते २०८२

अर्घाखाँची । जिल्लामा ३ हजार ११८ हेक्टर जमिनमा सिँचाइ सुविधा पुगेको छ । जिल्लामा ८ हजार ५४४ हेक्टर सिँचाइ योग्य जमिन रहेकामा ३६.४९ प्रतिशत जमिनमा सिँचाइ सुविधा पुगेको हो ।

जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय अर्घाखाँचीका डिभिजन प्रमुख भेषराज भुसालले जिल्लामा २१ हजार २४७ हेक्टर जमिनमा खेती गरिँदै आइएको जानकारी दिए। सोमध्ये ८ हजार ५४४ हेक्टर सिँचाइयोग्य जमिन रहेकामा ३ हजार ११८ हेक्टर क्षेत्रफलमा सिँचाइ सुविधा पुगेको उनले बताए।

जिल्लास्थित जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालयद्वारा आयोजित वार्षिक प्रगति समीक्षामा डिभिजन प्रमुख भुसालले १ वर्षको अवधिमा १२३ वटा सिँचाइका आयोजना सम्पन्न भएका जानकारी दिए।

उनका अनुसार गत आव २०८१र८२ मा जिल्लाभरमा रहेका १३३ मध्ये १२३ वटा आयोजना सम्पन्न भएका, २ वटा कार्यान्वयको चरणमा रहेका र ८ वटा मापदण्डअनुसार नभएकाले ती आयोजनामा काम गरिएको छैन ।

गत आवमा कार्यालयको कूल बजेट १६ करोड ७५ लाखमध्ये १४ करोड ४९ लाख ४५ हजार रुपैयाँ खर्च गरी भौतिक प्रगति ९७ं९९ प्रतिशत र वित्तिय प्रगति ८६.५३ प्रतिशत रहेको कार्यालयका लेखापाल शिवहरि खनालले जानकारी दिए।

कार्यालयले उत्कृष्ट कार्यसम्पादन गर्ने अर्घा कन्स्ट्रक्सन, समय भन्दाअगावै उत्कृष्ट कार्यसम्पादन गर्ने लुम्बिनी निर्माण सेवा, उत्कृष्ट रूपमा आयोजना कार्यान्वयनमा ल्याउने चौवाटार जलस्रोत उपभोक्ता समिति र ३६ वर्षसम्म (कार्यालयको संस्थापक कर्मचारीका रूपमा) काम गरेर अनिवार्य अवकाश हुने डम्बरबहादुर खत्रीलाई सम्मान गरेको छ ।

जिल्ला समन्वय समितिका प्रमुख जिवनारायण कोइरालाले सिँचाइ विकास डिभिजनले असारे विकासलाई रोकेर जेठ मसान्तसम्ममा सबै योजना सम्पन्न गरेर भुक्तानीको काम सम्पन्न गरेकामा कामको प्रशंसा गर्दै सिँचाइबिना कृषि उत्पादन बढ्न नसक्ने बताए।

प्रमुख जिल्ला अधिकारी गोपालप्रसाद अर्यालले हरेक कार्यालयका विकास निर्माणका गतिविधिमा जिल्ला प्रशासन कार्यालले पनि समन्वय गरेर काम गर्ने बताए।

कार्यक्रम जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय अर्घाखाँचीका लेखापाल शिवहरि खनालको स्वागत मन्तव्य र सूचना अधिकारी रामजी भट्टराईको सञ्चालनमा सम्पन्न भएको हो ।

समीक्षा कार्यक्रममा शीतगङ्गा नगरपालिका प्रमुख छविलाल पौडेल, भूमिकास्थान नगरपालिकाका नगर प्रमुख झविलाल थापा, छत्रदेव गाउँपालिकाका अध्यक्ष चन्द्रमान श्रेष्ठ, मालारानी गाउँपालिका अध्यक्ष दलबहादुर भट्टराई, पाणिनि गाउँपालिकाका अध्यक्ष टेकराज न्यौपानेलगायत जिल्लास्थित राजनीतिक दलका प्रतिनिधि, विभिन्न कार्यालयका प्रतिनिधि, सिँचाइ तथा जलउपभोक्ता, सञ्चारकर्मीलगायत सहभागिता थियो ।

जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय अर्घाखाँचीअन्तर्गत जरेखोला बगाले ५०० फाँट सिँचाइ योजना सन्धिखर्क–४ र छत्रदेव–६ को कार्य निर्माण सम्पन्न गर्नुपर्ने म्याद एक वर्ष रहेकामा लुम्बिनी निर्माण सेवा, सन्धिखर्क–८ ले दुई महिना १८ दिनमा काम सम्पन्न गरेको सिँचाइ कार्यालयका डिभिजन प्रमुख भुसालले जानकारी दिए।

उनका अनुसार लुम्बिनी निर्माण सेवा, सन्धिखर्क–८ का प्रोपाइटर नारायण पौडेलले निर्माण सम्पन्न गर्नुपर्ने म्याद १ वर्ष रहेकामा २ महिना १८ दिनमा सम्पन्न गरी आफूलाई अब्बल निर्माण व्यवसायीका रूपमा स्थापित गर्न सफल भएका हुन् ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्