काठमाडौं । प्रतिनिधि सभाअन्तर्गतको सार्वजनिक लेखा समितिले आफ्नो २३औँ वार्षिक प्रतिवेदन पारित गरेको छ। बिहीवार सिंहदरबारमा बसेको समितिको बैठकले सर्वसम्मत निर्णय गर्दै प्रतिवेदन पारित गरेको हो।समितिका सभापति ऋषिकेश पोखरेलका अनुसार, प्रतिवेदनमा बेरुजु फछ्र्यौटका कार्य, समसामयिक विषयमा समितिले लिएका निर्णयहरू, तथा सरकारी खर्चमा पारदर्शिता र जवाफदेहिता अभिवृद्धिका प्रयासहरू समेटिएका छन्।सभापति पोखरेलले प्रतिवेदन पारित गर्नुको उद्देश्य सदनमा समितिले विगत एक वर्षमा गरेका काम कारबाहीलाई व्यवस्थित रूपमा प्रस्तुत गर्नु रहेको जानकारी दिए। समितिको तयारी अनुसार, उक्त प्रतिवेदन आगामी असार ३१ गते प्रतिनिधि सभामा पेश गरिने छ।
सार्वजनिक लेखा समितिले प्रत्येक वर्ष सरकारी निकायहरूमा भएको खर्च, बेरुजु रकमको स्थिति, फछ्र्यौटको अवस्था र आर्थिक अनुशासनका सम्बन्धमा विश्लेषणात्मक प्रतिवेदन तयार पार्ने गर्दछ। प्रतिवेदनमा देखिएका कमजोरीहरूप्रति सुधारका लागि स्पष्ट सुझावसमेत समावेश गरिने परिपाटी रहँदै आएको छ।










