ताप्लेजुङ । ताप्लेजुङमा बुधबार राति वर्षासँगै आएको बाढीले फक्ताङलुङ गाउँपालिकाका विभिन्न ठाउँमा पुल बगाएको छ।बाढीले विभिन्न ठाउँमा पुल बगाएपछि तमोर करिडोरअन्तर्गतको सदरमुकाम फुङलिङबाट तापेथोक-लेलेप जोड्ने सडक अवरुद्ध भएको हो। बाढीले फक्ताङलुङ गाउँपालिकामा पर्ने सिसवा खोला, तावा खोला र सिस्ने खोलामा रहेका पुल बगाएको स्थानीय सुसन लिम्बूले जानकारी दिए।
तावा खोलामा रहेको बेलिब्रिज र काठबाट निर्मित मोटरेबल पुल बाढीले बाढीले बगाएको हो। सो स्थानमा बुधबार रातभर वर्षा भएको थियो। बाढीले पुल बगाएपछि फक्ताङलुङ गाउँपालिकाको केन्द्र रहेको तापेथोकसहितका क्षेत्रमा सडक अवरुद्ध भएको छ। त्यस क्षेत्रको जनजीवन प्रभावित बनेको छ।सिसावा खोलामा आज बिहान आएको बाढीले तमोर नदी केहीबेर थुनिएको थियो। अहिले नदीको पानी निकास भइरहेको छ। सो क्षेत्रमा प्रहरी टोली परिचालन गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ।










