काठमाण्डौ । साताको पहिलो कारोबार दिन आज नेपाल स्टक एक्सचेञ्च (नेप्से) मा दोहोरो अंकको गिरावट आएको छ । आज नेप्से परिसूचक १.६४ प्रतिशत अर्थात ४६.३३ अंकले घटेर २ हजार ७७२.१० विन्दुमा पुगेको छ ।
यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि १.५५ प्रतिशतले घटेर ४६३.२९ विन्दुमा पुगेको छ । यो दिन नेप्सेमा सूचीकृत मध्ये ३१५ वटा स्क्रिप्टको २ करोड २६ लाख ९१ हजार ४५३ कित्ता सेयर १० अर्ब ७ करोड ४० लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ ।
आजको बजारबारे बजार जानकार सुमन कुमार रिजाल भन्छन्, ‘राजावादीको प्रदर्शनका कारण आज बजारमा केही दबाब परेको छ । यो राजनीतिक कारण भएको र यही कारण बजार धेरै दिनसम्म घट्दैन,’ उनले भने ।
बजारलाई १० अर्बमाथिको कारोबारको साथ भएकाले उनले अहिले बजार जसरी घटिरहेको त्यसरी नै बढ्ने बताए ।
अर्का बजार जानकार विरेन्द्र विष्टका अनुसार २५० भन्दा बढी अंकले बढेको बजारमा केही अंक घटुनु सामान्य नै हो । ‘अझै एक दुई दिन बजार घटेपनि त्यो पनि सामान्य करेक्सन नै हुने र बजारले पुनः लय समात्ने छ,’विष्टले भने ।
यो दिन नेप्सेमा सूचीकृत १३ वटै समूहमा रातो पोतियो । आज अन्य समूहमा सर्वाधिक गिरावट आयो । यो समूह आज २.६९ प्रतिशतले घट्यो । बैंकिङ समूह पनि आज १.३६ प्रतिशत, विकास बैंक १.७१, फाइनान्स १.८७, होटल ०.८३,हाईड्रो १.६६, लगानी २.४९,जीवन बीमा १.७४,उत्पादन तथा प्रशोधन ०.९१, लघुवित्त १.५८,म्युचुअल फण्ड १.०४, निर्जीवन बीमा १.२६ र व्यापार समूह ०.८१ प्रतिशतले घट्यो ।










