काठमाण्डौ । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनर्स्थापनाका लागि एनएमबी बैंक लिमिटेडले ३ करोड ५१ लाख रुपैयाँ सहयोग गरेको छ।
बैंकका सञ्चालक समितिका अध्यक्षले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा हुने गरी उक्त रकमको चेक अर्थमन्त्रीलाई हस्तान्तरण गरेका हुन्। बैंकले आर्थिक सहयोगसँगै बाढी प्रभावित क्षेत्रका नागरिकका लागि थप १० लाख रुपैयाँबराबरको राहत सामग्री समेत उपलब्ध गराएको जनाएको छ।
अचानक आएको भीषण बाढीका कारण रसुवा, नुवाकोट, धादिङ, गोरखा तथा चितवनलगायत नदी तटीय क्षेत्रमा ठूलो जनधनको क्षति भएको छ। बाढीका कारण कैयौँ परिवार विस्थापित हुनुका साथै सडक, स्थानीय पूर्वाधार तथा जलविद्युत् आयोजनामा समेत क्षति पुगेको छ।
यस्तो कठिन परिस्थितिमा प्रभावित नागरिकको राहत तथा पुनर्स्थापनामा सहयोग पुर्याउने उद्देश्यले बैंकले सरकारको राहत कोषमा रकम उपलब्ध गराएको जनाएको छ।
बैंकका अनुसार उक्त सहयोगबाट बाढी प्रभावितको उपचार, खाद्यान्न तथा आवास व्यवस्थापनका साथै क्षतिग्रस्त संरचनाको पुनर्निर्माण र पुनर्स्थापनामा योगदान पुग्ने अपेक्षा गरिएको छ।










