समय : १२:२५ am | शुक्रबार , वैशाख २४ गते २०८३

सयपत्री फूलको बिक्रीबाट पाँच लाख आम्दानी

अर्थ विशेष | कार्तिक २२ गते २०८१

वालिङ ।यहाँका एक किसानले दसैँ तिहार अवधिमा सयपत्री फूल बिक्रीबाट पाँच लाख आम्दानी गरेका छन् । स्याङ्जाको चापाकोट नगरपालिका– १ बेलडाँडाका किसान तुल्सीराम भण्डारीले सयपत्री फूल तथा माला बिक्रीबाट पाँच लाख बढी आम्दानी गर्न सफल भएका हुन् ।

उनले दसैँ तथा तिहारका अवधिमा माला एकहजार आठ सय ४५ गोटा र फूल एक हजार तीन सय ७६ केजी बिक्री गरेका हुन् । फूल बिक्रीबाट तीन लाख ४४ हजार र माला बिक्रीबाट एक लाख ४७ हजार ६०० गरी कूल चार लाख ९१ हजार ६०० आम्दानी गरेको उनले बताए।

भण्डारीले फूलका थुङ्गा प्रतिकेजी रु दुई सय ५० देखि तीन सय र माला प्रतिगोटा रु एक सय ५० सम्म बिक्री गरेका हुन् । यहाँ उत्पादन भएको फूल तथा माला भैरहवा, नारायणगढ, बर्दघाटलगायतका बजार तथा स्थानीयस्तरमा पनि खपत भएको उनले बताए।

पेसाले कृषि प्राविधिक अध्ययन गर्नुभएका रामचन्द्रले फूलमा प्राविधिक पक्ष र बजारीकरणमा बुवालाई सघाउँदै आएका छन् । ‘फूलका बोटबाट अझै उत्पादन लिन सकिन्छ” रामचन्द्रले भने, ‘अब उत्पादन हुनेमध्येको केही फूलको माग आएको र केही स्थानीयस्तरमा हुने विवाह, व्रतबन्ध, पूजाआजालगायतका धार्मिक तथा मेला महोत्सवहरुमा खपत हुने छ ।’

दसैँ तिहारको अवधिमा फूलको व्यापारबाट झण्डै पाँच लाख आम्दानी भएको र अब बिक्री हुने फूलबाट झण्डै दुई लाख आम्दानी लिन सकिने दाबी रामचन्द्रको छ । बाँदरले अन्नबाली नष्ट गरिदिएपछि भण्डारीले विकल्पको रुपमा फूलखेती थालेका हुन् । खेतबारीमा लगाएको अन्नबाली बाँदरले सखाप पारेपछि विकल्पको रुपमा फूल खेती गरेका भण्डारीले यस वर्षदेखि सयपत्री फूलको व्यावसायिक उत्पादन थालेका हुन् ।

दसैँ तिहारलाई लक्षित गरेर दुई हजार बिरुवा सयपत्री फूल रोपेका थिए । स्थानीय जलपादेवी आधारभूत विद्यालयका प्रधानाध्यापकसमेत रहेका भण्डारीले विकल्पको रुपमा प्रयोग गरेको फूलखेतीमा बाँदरले क्षति नपुर्‍याएकाले आगामी वर्षदेखि अझै ठूलो परिमाणमा फूलको व्यावसायिक उत्पादन गर्ने तयारीमा रहेका छन्।

‘माग भएअनुसार माला तथा फूल उपलब्ध गराउन सकेनौँ’ उनले भने, ‘सयपत्रीको व्यावसायिक उत्पादन तथा बजारीकरणमा सहज भयो, बजार राम्रो पायौंँ ।’ बोटमा फूल फुल्ने क्रम जारी रहेको र मङ्सिरको महिनभर उत्पादन लिन सकिने उनले बताए। यहाँ उत्पादन भएको फूलको माग भैरहवाबाट आएकाले केही दिनमै पठाउने तयारी भएको व्यवसायी भण्डारीका छोरा रामचन्द्र भण्डारीले बताए।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्