काठमाडौँ । शरद् ऋतुमा नेपालका ४४ हिमाल आरोहण गर्न ७६ देशका एक हजार ४१० आरोहीले आरोहण अनुमति लिएका छन् । शरद् ऋतुमा हिमाल आरोहण गर्न १६१ टोलीले अनुमति लिएका हुन् ।
पर्यटन विभागकी शाखा अधिकृत सुधा रेग्मीले ४४ हिमाल आरोहणका लागि एक हजार ६९ पुरुष र ३४१ महिलाले आरोहण अनुमति लिएको जानकारी दिइन् । आरोहण अनुमति प्रदान गरेबापत विभागले आरोहीबाट ३१ करोड ८० लाख ५० हजार ७७८ रुपैयाँ रोयल्टी संकलन गरेको छ ।
आरोहण अनुमति प्रदान गरिएका हिमालमध्ये सबैभन्दा धेरै मनास्लु (८,१६३ मिटर) का लागि अनुमति लिइएको छ । मनास्लु आरोहणका लागि मात्रै ४३ टोलीका ५०० आरोहीले अनुमति लिएका छन् । जसमा ३७३ पुरुष र १२७ महिला रहेका छन् । उनीहरूबाट विभागले २२ करोड ५८ लाख ५७ हजार १८९ रुपैयाँ रोयल्टी संकलन गरेको छ ।
धौलागिरि–१ आरोहणका लागि छ टोलीका ३७ जनाले आरोहण अनुमति लिएका छन् । उनीहरूबाट विभागले ८४ लाख ७३ हजार ६५० रुपैयाँ रोयल्टी संकलन गरेको छ ।
यस्तै, मकालु हिमाल आरोहणका लागि एउटा टोलीका तीन जनाले अनुमति लिएका छन् । उनीहरूबाट विभागले छ लाख ८८ हजार ५० रुपैयाँ राजस्व संकलन गरेको शाखा अधिकृत रेग्मीले बताइन् ।
यसैगरी, हिम्लुङ हिमालका लागि १२ टोलीका १२१ आरोहीले अनुमति लिएका छन् । उनीहरूबाट विभागले ७४ लाख २७ हजार ७२० रुपैयाँ रोयल्टी संकलन गरेको छ ।
यस्तै, आमादब्लम हिमाल आरोहणका लागि ३२ टोलीका ३८६ जनाले आरोहण अनुमति लिएका छन् । उनीहरूबाट विभागले पाँच करोड ७६ लाख ९९ हजार ६५० रुपैयाँ राजस्व संकलन गरेको छ ।
शाखा अधिकृत रेग्मीका अनुसार पुथा हिउँचुली, डाङ्गा हिउँचुली, बरुणत्से हिमाल, मकालु, गंगापूर्णा पश्चिम (लाङचेनेल), थोरोङ पिक, नोर्बु खाङ, अन्नपूर्ण–४, चाम्लाङ, लमजुङ हिमाल, पुमोरी, सारिबुङ, थापा पिक (धाम्पुस), पोखर खाङ, अर्दाङ, जुगल र पेरीलगायतका हिमालका लागि अनुमति प्रदान गरिएको छ ।
आरोहण अनुमति लिनेमा सबैभन्दा धेरै चीनका १४१ जना रहेका छन् । यसबाहेक रुसका १०८, फ्रान्सका १३०, अमेरिकाका ११९, बेलायतका ९६, पोल्यान्डका ४१, नेपालका ३३, स्विट्जरल्यान्डका ४७, स्पेनका ३१, भारतका ४०, इटलीका ४७ र जापानका ३५ जनाले आरोहण अनुमति लिएका शाखा अधिकृत रेग्मीले बताइन् ।










