समय : ०७:३१ pm | मङ्गलबार , भाद्र २ गते २०८३

सामाजिक सुरक्षा कोषमा पुगे ३१ लाखभन्दा बढी योगदानकर्ता

अर्थ विशेष | भाद्र २ गते २०८३

काठमाडौं । सामाजिक सुरक्षा कोषमा ३१ लाख बढी योगदानकर्ता पुगेका छन् भने झण्डै सबा खर्ब रुपैयाँ योगदान रकम संकलन भएको छ ।

भदौ १ गतेसम्मको तथ्यांकअनुसार कुल ३१ लाख ८ हजार ७ सय ४० जना योगदानकर्ता सूचीकृत भएका छन् । यसमध्ये सबैभन्दा ठूलो हिस्सा वैदेशिक क्षेत्रको रहेको छ, जहाँबाट २३ लाख ७१ हजार ७ सय १७ जना आवद्ध छन् ।

औपचारिक क्षेत्रबाट ७ लाख ३४ हजार ५ सय ६९ जना, स्वरोजगार क्षेत्रबाट १ हजार ३ सय १० जना र अनौपचारिक क्षेत्रबाट १ हजार १ सय ४४ जना कोषमा जोडिएका छन् ।

त्यस्तै, औपचारिक क्षेत्रका २३ हजार ६ सय १ रोजगारदाता संस्थाहरु हालसम्म कोषमा सूचीकृत भइसकेका छन् । औपचारिक क्षेत्रका रोजगारदाताहरुको प्रदेशगत विवरण हेर्दा बाग्मती प्रदेशको सहभागिता सबैभन्दा उच्च देखिएको छ ।

बाग्मती प्रदेशबाट १५ हजार ६ सय ३५ रोजगारदाता कोषमा आवद्ध हुँदा कोशी प्रदेशबाट २ हजार ६ सय ७, लुम्बिनीबाट २ हजार २१, गण्डकीबाट १ हजार ३ सय २३ र मधेश प्रदेशबाट १ हजार ३ सय २१ रोजगारदाता सूचीकृत छन् ।

सुदूरपश्चिम प्रदेशबाट ३ सय ८० र कर्णाली प्रदेशबाट सबैभन्दा कम ३ सय १४ रोजगारदाता कोषको सम्पर्कमा आएका छन् ।

सामाजिक सुरक्षा कोषमा विभिन्न योजनाहरु अन्तर्गत भदौ १ गतेसम्म कुल १ खर्ब २३ अर्ब ८ करोड रुपैयाँ योगदान रकम संकलन भएको छ । यसमा औपचारिक, वैदेशिक, अनौपचारिक र स्वरोजगार सबै क्षेत्रको योगदान समेटिएको छ ।

विशेष गरी वृद्ध अवस्था सुरक्षा योजना अन्तर्गत सबैभन्दा धेरै रकम संकलन भएको देखिन्छ, जसमा औपचारिक क्षेत्रबाट ९० अर्ब ९६ करोड ६६ लाख ७७ हजार र वैदेशिक क्षेत्रबाट ४४ अर्ब ६१ करोड ५२ लाख ७१ हजार रुपैयाँ जम्मा भएको छ ।

यसका अतिरिक्त कोषमा प्रतिफल र अतिरिक्त योगदानको हिस्सा पनि उल्लेखनीय रहेको छ ।

योगदानकर्ताहरुले विभिन्न जोखिम र आवश्यकताका समयमा कोषबाट सुविधा लिने क्रम पनि बढेको तथ्यांकले देखाएको छ । हालसम्म कोषले कुल २१ अर्ब ८३ करोड रुपैयाँ दाबी भुक्तानी गरिसकेको छ । तथ्यांक अनुसार ३ लाख १२ हजार ८ सय ८४ वटा दाबी दर्ता भएकोमा १ लाख ३४ हजार ८ सय ९ वटा दाबीको भुक्तानी भइसकेको छ ।

योजनागत रुपमा हेर्दा, वृद्ध अवस्था सुरक्षा योजना अन्तर्गत १७ अर्ब ४५ करोड ५७ लाख ६३ हजार रुपैयाँ भुक्तानी भएको छ ।

त्यस्तै, औषधी उपचार, स्वास्थ्य तथा मातृत्व योजनामा ३ अर्ब ८३ करोड ३१ लाख ४ हजार, आश्रित परिवार सुरक्षा योजनामा ३८ करोड २४ लाख ६७ हजार र दुर्घटना तथा अशक्तता सुरक्षा योजना अन्तर्गत ३१ करोड ६३ लाख ६२ हजार रुपैयाँ भुक्तानी गरिएको छ ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्