समय : ०२:२३ pm | मङ्गलबार , श्रावण १९ गते २०८३

बिक्रेतालाई ग्यास सञ्चित गरेर नराख्न आग्रह

अर्थ विशेष | श्रावण १९ गते २०८३

गण्डकी । जिल्ला प्रशासन कार्यालय, कास्कीले बजारमा खाना पकाउने ग्यासको अभाव देखिन थालेपछि ग्यासको आपूर्ति र वितरणलाई सहज बनाउन पहल थालनी गरेको छ ।

कृत्रिम अभाव र कालोबजारी रोक्न अनुगमन तीव्र पारिएको सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालले बताए । पोखरामा रहेका बिक्रेतालाई ग्यास सञ्चित गरेर नराख्न सचेत गराइएको उनको भनाइ छ ।

पोखरामा ग्यास आपूर्ति गर्ने १९ वटा कम्पनीलाई ग्यास आपूर्ति र बिक्रीवितरणलाई सहज बनाउन आग्रह गरिएको उनले बताए । ‘प्रशासनका तर्फबाट समन्वय भइरहेको छ, बजार अनुगमन पनि गरिरहेका छौँ, आजभोलिसम्ममा तीनवटा बुलेट पोखरामा भित्रदैछन्,’ सहायक प्रजिअ बरालले भने, ‘अहिले देखिएको समस्या विस्तारै सहज हुँदैछ, उपभोक्तालाई पनि आश्वस्त हुन आग्रह छ ।’

केही दिनअघि जिल्ला प्रशासन कार्यालयको अगुवाइमा बसेको सरोकार भएका पक्षबीचको बैठकले ग्यासको आपूर्ति, बिक्री र अनुगमनलाई प्रभावकारी बनाउने निर्णय गरेको थियो ।

ग्यास उद्योग तथा बिक्रेतालाई दैनिक रूपमा प्राप्त र वितरण भएको ग्यासको अभिलेख राख्न, उपभोक्ताको नाम, ठेगाना, सम्पर्क नम्बर र बिक्री गरिएको परिमाणको विवरण अद्यावधिक गर्न अनुरोध गरिएको उनले बताए ।

यस्तै ७० वर्षभन्दा माथिका ज्येष्ठ नागरिक, अशक्त, अपाङ्गता भएका व्यक्ति तथा भाडामा बस्ने विद्यार्थीलाई प्राथमिकताका आधारमा ग्यास उपलब्ध गराउन आग्रह गरिएको छ । बिक्रेता र उपभोक्तालाई अनावश्यक रुपमा ग्यास सञ्चित नगर्न, कृत्रिम अभाव सिर्जना नगर्न तथा कालोबजारी नगर्न सचेत गराइएको कार्यालयले जनाएको छ ।

ग्यास उद्योगलाई पनि बिक्रेतामार्फत सही रुपमा ग्यासको वितरण भए–नभएको नियमित अनुगमन गर्न आग्रह गरिएको सहायक प्रजिअ बरालले बताए ।

बजार अनुगमनमा सहयोग गर्न र कुनै अनियमितता देखिएमा जिल्ला प्रशासन कार्यालय वा जिल्ला प्रहरी कार्यालयमा जानकारी गराउन सम्बद्ध सबै पक्षमा अनुरोध गरिएको छ ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्