समय : ०४:४४ pm | आइतबार , असार २८ गते २०८३

मधेश प्रदेशसभा : बजेटलगायतका समस्या समाधान गर्न कार्यदल गठन

अर्थ विशेष | असार २८ गते २०८३

जनकपुरधाम । मधेश प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटलगायतका विषयमा देखिएका समस्या समाधान गर्न कार्यदल गठन गरिएको छ ।

मधेश प्रदेशसभाको आइतबारको बैठकमा सभामुख रामअशिष यादवले आजैदेखि कार्य प्रारम्भ गर्ने गरी प्रदेशसभा सदस्यहरु उपेन्द्र महतो, हरिनारायण महतो, जंगीलाल राय, प्रमोदकुमार यादव, सञ्जयकुमार यादव, बिमला अन्सारी तरुन्म र सरिताकुमारी ठाकुर रहने गरी कार्यदल गठन गरिएको घोषणा गरे । कार्यदलले कार्यविधि आफै निर्माण गर्नेछ ।

साथै आइतबारको बैठकमा प्रदेश सरकारका अर्थमन्त्री युवराज भट्टराईले प्रदेश सरकारको विनियोजन विद्येयक २०८३ प्रस्तुत गरे । यस्तै बैठकमा प्रदेशसभा सदस्य रविन्द्र श्रेष्ठले पेश गरेको मधेश प्रदेशसभा नियमवलीको नियम १३५ को उपनियम (२) र (३) निलम्बन गर्ने प्रस्ताव बहुमतले स्वीकृत भएको सभामुख यादवले घोषणा गरे । सो दुबै उपनियम निलम्ब भएसँगै सभामुख यादवले आजको कार्यसूचीमा रहेका अन्य विषयहरु हटाए । प्रदेशसभाको अर्को बैठक यही असार ३० गते मंगलबार दिउँसो १ बजे बस्ने गरी स्थगित भएको छ ।

यही असार १ गते प्रदेश सरकारले प्रस्तुत गरेको विनियोजन विद्येयकमाथिको छलफल गर्न असार १७ गते आह्वान गरेको प्रदेशसभाको बैठकमा प्रतिपक्ष दल जनता समाजवादी पार्टी नेपाल, जनमत पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीले बजेट संशोधनको मागसहित बैठक अवरुद्ध गरेपछि सभामुख यादवले बैठक अर्को सूचना नहुञ्जेलसम्मका लागि बैठक स्थगित गरेका थिए ।

मधेश प्रदेश सरकारका अर्थमन्त्री युवराज भट्टराईले प्रदेशसभाको बैठकमा आगामी आर्थिक वर्ष २०८३/८४ मा कृषि नवप्रर्तन, उद्यमशीलता प्रबद्र्धन, शिक्षा, स्वास्थ्यलाई प्राथमिकतामा राख्दै ४१ अर्ब १३ करोड ८६ लाखको बजेट प्रस्तुत गरेका थिए ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्