समय : ०७:०९ pm | सोमबार , असार १५ गते २०८३

नियम विपरीत काम गर्ने लघुवित्त र पदाधिकारीमाथि राष्ट्र बैंकको डन्डा, ५ संस्थामाथि शीघ्र सुधारात्मक कारबाही

अर्थ विशेष | असार १५ गते २०८३


काठमाडौं । नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०८२/८३ को तेस्रो त्रयमासमा नियम विपरीत कार्य गर्ने विभिन्न लघुवित्त वित्तीय संस्था, तिनका सञ्चालक समिति र प्रमुख कार्यकारी अधिकृतहरूलाई कारबाही गरेको छ । बैंकको लघुवित्त संस्था सुपरिवेक्षण विभागले दिएको जानकारी अनुसार राष्ट्र बैंकले संस्थागत सुशासन कायम नगर्ने र वित्तीय सूचकाङ्कहरू कमजोर देखिएका संस्थाहरूलाई सचेत गराउनेदेखि शीघ्र सुधारात्मक कारबाहीसम्म गरेको हो ।

५ लघुवित्तमाथि शीघ्र सुधारात्मक कारबाही

न्यूनतम पूँजीकोष अनुपात कायम गर्न नसकेका ५ वटा लघुवित्त वित्तीय संस्थाहरूलाई राष्ट्र बैंकले ‘बैंक तथा वित्तीय संस्थाको शीघ्र सुधारात्मक कारबाही सम्बन्धी नियमावली, २०७४’ अनुसार कारबाही गरेको छ ।

बनेपाको आरम्भ चौतारी लघुवित्तले २०८२ असार मसान्तमा न्यूनतम पूँजीकोष अनुपात ७.७७ प्रतिशत मात्र कायम गरेको, तनहुँको गणपति लघुवित्तको २०८२ असोज मसान्तमा पूँजीकोष अनुपात ६.०६ प्रतिशत मात्र रहेको र बनेपाको सामुदायिक लघुवित्तको २०८२ असार मसान्तमा ६.१२ प्रतिशत पूँजीकोष अनुपात कायम गरेको भन्दै राष्ट्र बैंकले कारबाही गरेको हो ।

त्यस्तै, बनेपाको नेरुडे मिर्मिरे लघुवित्तको २०८२ असार मसान्तमा ६.०१ प्रतिशत पूँजीकोष अनुपात रहेको र पोखराको सिवाईसी नेपाल लघुवित्तको २०८२ असार मसान्तमा ६.२० प्रतिशत पूँजीकोष अनुपात कायम गरेको भन्दै राष्ट्र बैंकले कारबाही गरेको हो ।

सञ्चालक समिति र प्रमुख कार्यकारी अधिकृतलाई सचेत

राष्ट्र बैंकले धौलागिरी र सिवाईसी नेपाल लघुवित्तको सञ्चालक समिति तथा नेरुडे मिर्मिरेका प्रमुख कार्यकारी अधिकृतलाई समेत सचेत गराएको छ ।

धौलागिरी लघुवित्तको कर्मचारी सेवा विनियमावली, २०८० को नियम ९५ को मर्म विपरीत नायब कार्यकारी अधिकृतलाई पुनर्वहाली गरेको र स्पष्ट आधार बिना काम नगरेको अवधिको रकम भुक्तानी गरेको पाइएपछि राष्ट्र बैंकले सञ्चालक समितिलाई सचेत गराएको छ । सचेत गराइनेहरूमा अध्यक्ष सिर्जना थापा तथा सञ्चालकहरू सुमन प्रसाद श्रेष्ठ, जीवन आचार्य, सालिक राम शर्मा, चेत प्रसाद सापकोटा, गणेश पौडेल र रेशम लाल सापकोटा रहेका छन् ।

त्यस्तै, बैंकले सिवाईसी नेपाल लघुवित्तको सवारी साधन खरिद गर्दा आर्थिक प्रशासन विनियमावलीमा तोकिएको खर्च सीमा र अख्तियारी पालना नगरेको भन्दै अध्यक्ष पद्मनाथ शर्मा, सञ्चालकहरू प्राडा तरुण पौडेल, लक्ष्मण खड्का क्षेत्री, जीवन प्रसाद पौडेल, सुमन घर्ती क्षेत्री, मुनादेवी खनाल र दिलीप पौडेललाई सचेत गराएको छ ।

साथै, नेरुडे मिर्मिरे लघुवित्तका प्रमुख कार्यकारी अधिकृत भोजराज बस्याललाई राष्ट्र बैंकको निर्देशन विपरीत ८१.५५ करोड रुपैयाँ बराबरको कर्जा नोक्सानी व्यवस्था फिर्ता गरी आम्दानी देखाएको भन्दै सचेत गराइएको छ । संस्थाले कुन ऋणीको नोक्सानी व्यवस्था फिर्ता गरिएको हो भन्ने यकिन नगरी आम्दानी लेखाङ्कन गरेको पाइएको थियो ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्