समय : ११:३९ pm | सोमबार , जेठ २५ गते २०८३

शिवपुरी राष्ट्रिय निकुञ्जमा अवस्थित ‘क्लासिक भ्यू रिसोर्ट’को व्यवस्थापनको जिम्मा ‘सोल्टी होटल्स एण्ड रिसोर्ट’ले लियो

अर्थ विशेष | जेठ २५ गते २०८३


काठमाडौँ।'सोल्टी होटल्स एण्ड रिसोर्ट्सले काठमाडौंको शिवपुरी राष्ट्रिय निकुञ्ज क्षेत्रस्थित क्लासिक भ्यू रिसोर्ट लिमिटेडको स्वामित्वमा रहेको पाँचतारे स्तरको लक्जरी रिसोर्ट व्यवस्थापन तथा सञ्चालन गर्ने भएको छ। यसका लागि दुवै पक्षबीच होटल व्यवस्थापन सम्झौता सम्पन्न भएको छ।

सम्झौतापछि उक्त रिसोर्ट ‘द सोल्टी रिसोर्ट शिवपुरी राष्ट्रिय निकुञ्ज काठमाडौं’ नामबाट सञ्चालन हुनेछ। सोल्टीका अनुसार रिसोर्टले विश्वस्तरीय आतिथ्य सेवा, प्राकृतिक सौन्दर्य र स्वास्थ्य–केन्द्रित पर्यटन अनुभवलाई एकै स्थानमा समेट्ने लक्ष्य राखेको छ।

शिवपुरी राष्ट्रिय निकुञ्जको शान्त वातावरणमा अवस्थित रिसोर्टबाट काठमाडौं उपत्यकाको आकर्षक दृश्यावलोकन गर्न सकिन्छ। हरियाली वनजंगल, स्वच्छ हावा तथा प्राकृतिक सौन्दर्यबीच अवस्थित यस रिसोर्टले आन्तरिक तथा बाह्य पर्यटकलाई विशिष्ट विश्राम अनुभव प्रदान गर्ने कम्पनीको दाबी छ।

हाल रिसोर्टमा २५ सुसज्जित कोठा र एक निजी भिल्ला सञ्चालनमा रहेका छन् भने थप ५१ लक्जरी कोठा निर्माणाधीन छन्। प्रत्येक कोठामा नेपाली कला, संस्कृति र पहिचान झल्किने डिजाइन समावेश गरिएको छ।

रिसोर्टमा ‘गुराँस अल डे डाइनिङ’ रेस्टुरेन्ट, ‘ऐराक बार’ तथा ‘जङ्गल फायर बीबीक्यू टेरेस’ सञ्चालन हुनेछन्। अतिथिले नेपाली तथा अन्तर्राष्ट्रिय परिकारका साथै बोनफायर र प्राकृतिक दृश्यको आनन्द लिन सक्ने व्यवस्था गरिएको छ।

स्वास्थ्य तथा मनोरञ्जनका लागि स्वीमिङ पुल, स्पा, स्टीम, साउना र फिटनेस सेन्टरको सुविधा उपलब्ध हुनेछ। साथै हाइकिङ, चराचुरुङ्गी तथा वन्यजन्तु अवलोकनजस्ता गतिविधि पनि सञ्चालन गरिने जनाइएको छ।

रिसोर्टमा आधुनिक बैंक्वेट हल, दुई खुला लन तथा एम्फिथिएटरसमेत रहेका छन्। यी संरचनाहरू विवाह, कर्पोरेट कार्यक्रम, सामाजिक समारोह तथा विभिन्न रिट्रिट कार्यक्रम आयोजना गर्न उपयुक्त हुने बताइएको छ।

होटल व्यवस्थापन सम्झौतामा सोल्टी होटल लिमिटेडका उपाध्यक्ष सुदर्शन चापागाईं र क्लासिक भ्यू रिसोर्ट लिमिटेडका अध्यक्ष मुकुन्दराज कुँवरले हस्ताक्षर गरेका छन्।

सोल्टी होटल्स एण्ड रिसोर्ट्सले नेपालका प्रमुख पर्यटकीय गन्तव्यहरूमा आफ्नो आतिथ्य सेवा विस्तार गर्दै नेपालको सांस्कृतिक, ऐतिहासिक तथा प्राकृतिक सम्पदाको प्रवर्द्धन गर्ने लक्ष्य लिएको जनाएको छ। शिवपुरीस्थित नयाँ रिसोर्ट सञ्चालनसँगै काठमाडौं उपत्यकामा सोल्टीको यो तेस्रो सम्पत्ति बन्न पुगेको छ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्