समय : ०६:४१ pm | शनिबार , जेठ १६ गते २०८३

‘पुँजीगत खर्च बढाउँदा अर्थतन्त्र चलायमान हुन्छ’

अर्थ विशेष | जेठ १६ गते २०८३

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष अञ्जन श्रेष्ठले पुँजीगत खर्च बढाउने सरकारको सकारात्मक पहलका रूपमा रहेको भन्दै यसले निजी क्षेत्र चलायमान हुने विश्वास व्यक्त गरेका छन् ।

नेपाल जग्गा तथा आवास विकास सङ्घद्वारा शनिबार आयोजित १९औँ वार्षिक साधारणसभामा उहाँले आगामी आर्थिक वर्षको बजेटमा थोरै भए पनि पुँजीगत खर्च बढ्दा अर्थतन्त्र चलायमान हुने बताए ।

अध्यक्ष श्रेष्ठले बजेटले पूर्वाधार क्षेत्रको खर्च बढाउनु, आयकर घटाउनु, प्रविधिलाई जोड दिनु सकारात्मक पक्ष भएको प्रतिक्रिया दिए । उनले रोजगारीका लागि विदेश जानुपर्ने र उपभोग्य वस्तु ७० प्रतिशत विदेशबाट आयत गर्नुपर्ने अवस्थाको अन्त्य गर्नुपर्नेमा जोड दिए । उनले बजेटले विदेशी नागरिकलाई लिजमा घर किन्न पाउने व्यवस्था गर्नु, व्यवस्थित सहरको कल्पना गर्नु यस क्षेत्रका व्यवसायीका लागि खुसीको विषय भएको उल्लेख गरे ।

घरजग्गा व्यवसायको समस्यालाई समाधान गर्न महासङ्घ सदैव सकारात्मक भएर लाग्ने अध्यक्ष श्रेष्ठको भनाइ छ । उनले हदबन्दीको समस्या समाधानका लागि महासङ्घले सम्बन्धित निकायको ध्यानाकर्षण गरिसकिएको जानकारी दिए ।

नेपाल जग्गा तथा आवास विकास महासङ्घका अध्यक्ष विष्णुप्रसाद घिमिरेले बजेटले एकीकृत सहरी पूर्वाधारको कल्पना गरेको भन्दै त्यसलाई महासङ्घले सकारात्मक रूपमा लिएको बताए । जग्गा हदबन्दी र कित्ताकाटलाई सरकारले अध्यादेशमार्फत अगाडि बढाउने उनले विश्वास व्यक्त गरे ।

नेपाल उद्योग परिसङ्घका अध्यक्ष वीरेन्द्रराज पाण्डेले मुलुकको समग्र अर्थतन्त्र सकारात्मक भएपनि लगानीको वातावरण नबन्दा समस्या परेको बताए । अर्थतन्त्र चलायमान बनाउनका लागि घरजग्गा व्यवसाय चलायमान हुनुपर्र्ने उनको भनाइ छ । अर्थतन्त्र चलायमान बनाउन यस क्षेत्रमा देखिएका समस्या समाधानमा सरकार लाग्नुपर्नेमा उनले जोड दिए ।

नेपाल चेम्बर अफ कमर्शका वरिष्ठ उपाध्यक्ष दीपक मल्होत्राले लामो समयको अन्योलपछि स्थायी सरकार बनेको भन्दै यो सरकारसँग निजी क्षेत्र आशावादी रहेका बताए । घरजग्गा व्यवसायलाई माथि उकास्न सकेमात्र अन्य व्यवसाय अगाडि बढ्ने उनको भनाइ छ । नयाँ सरकारले भौतिक पूर्वाधारको क्षेत्रमा करिब चार खर्ब बजेट विनियोजन गर्नु निजी क्षेत्रका लागि खुसीको विषय भएको उनले प्रतिक्रिया दिए ।

नेपाल जग्गा तथा आवास विकास महासङ्घका संस्थापक अध्यक्ष मीनमान श्रेष्ठले विदेशी नागरिकले ‘अपार्टमेन्ट’ लिजमा किन्न पाउने सरकारको निर्णय सकारात्मक भएको बताए । मुलुकको अर्थतन्त्र चलायमान बनाउने घरजग्गा व्यवसाय शिथिल बन्दै गएका आगामी आवको बजेटले सकारात्मक मार्ग देखाएको उनले प्रतिक्रिया दिए ।

सङ्घका अध्यक्ष इन्जिनियर दीपक कुँवरले जग्गा हदबन्दीका कारण घरजग्गा व्यवसाय सङ्कटमा परेको बताए । उनले विस २०७६ सालदेखि लागू भएको जग्गा हदबन्दीसम्बन्धी व्यवस्थाले व्यवसायीलाई ठूलो मर्कामा परेको भन्दै यो समस्या सथाशीघ्र समाधान हुनेमा विश्वास व्यक्त गरे ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्