काठमाडौँ । संवैधानिक व्यवस्थाअनुसार आज (असार १०) सम्म सबै स्थानीय तहले आगामी आर्थिक वर्षको बजेट अधिवेशन सम्पन्न गर्नुपर्ने हुन्छ ।
यो व्यवस्थाअनुसार अहिलेसम्म चारवटा महानगरले बजेट अधिवेशन सम्पन्न गरिसकेका छन् । ललितपुर महानगरको अधिवेशन आज चलिरहेको छ । तर, देशकै ठूलो महानगर काठमाडौंको बजेट अधिवेशन भने अनिश्चित बनेको छ ।
अहिलेसम्म पोखरा, भरतपुर, वीरगञ्ज र विराटनगर महानगरले आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गरिसकेका छन् । तर, काठमाडौं महानगरपालिकामा भने आन्तरिक द्वन्द्वका कारण अहिलेसम्म बजेट अधिवेशन तयारीको लागि बोर्डको बैठक नै बस्न नसकेको जनाइएको छ ।
पोखरा महानगरको बजेट आठ अर्ब ३५ करोड
पोखरा महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि आठ अर्ब ३५ करोड रुपैयाँको बजेट ल्याएको छ ।
महानगरपालिकाको १७औँ नगरसभा बैठकमा आइतबार महानगरपालिकाका उपप्रमुख मञ्जुदेवी गुरुङले उक्त बजेट प्रस्तुत गरेकी थिइन् ।
बजेटमा सङ्घीय सर्शत अनुदान तीन अर्ब १३ करोड, सङ्घीय राजस्व बाँडफाट ३३ करोड आठ लाख, सङ्घीय समानीकरण अनुदान ५२ करोड ८७ लाख र प्रदेश समानीकरण अनुदान आठ करोड १५ लाख रुपैयाँ प्राप्त हुने अनुमान गरिएको छ ।
त्यस्तै; आगामी वर्ष आन्तरिक आय पाँच अर्ब २२ करोड, स्थानीय राजस्व बाँडफाट एक अर्ब एक करोड, प्रदेश राजस्व बाँडफाट चार करोड २८ लाख हुने जनाइएको छ ।
भरतपुरले ल्यायो पाँच अर्ब १९ करोडको बजेट
भरतपुर महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि पाँच अर्ब १९ करोड ७१ लाख ६६ हजार रुपैयाँ बराबरको बजेट प्रस्तुत गरेको छ । महानगरको १७औँ नगरसभामा उपप्रमुख चित्रसेन अधिकारीले आगामी आर्थिक वर्षका लागि बजेट प्रस्तुत गरेका थिए ।
कूल बजेटको स्रोत व्यवस्थापनका लागि आन्तरिक आयबाट एक अर्ब ८० करोड, अन्तरसरकारी वित्तीय हस्तान्तरणबाट दुई अर्ब १५ करोड ७६ लाख, सङ्घीय राजस्व बाँडफाँडबाट ३१ करोड ९१ लाख र प्रदेश राजस्व बाँडफाँडबाट १४ करोड चार लाख ४१ हजार अनुमान गरिएको छ ।
जनसहभागिताबाट पाँच करोड, बैङ्क मौज्दातबाट ७० करोड र सडक बोर्ड नेपालबाट तीन करोड रुपैयाँ प्राप्त हुने प्रक्षेपण गरिएको छ ।
वीरगञ्ज महानगरले ल्यायो तीन अर्ब २२ करोडको बजेट
वीरगञ्ज महानगरले आगामी आर्थिक वर्ष २०८२/८३ का सोमबार लागि तीन अर्ब २२ करोड ४८ लाख ४९ हजार रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेको छ । महानगरको नगरसभाको १७औँ अधिवेशनमा महानगरका उपप्रमुख इम्तियाज आलमले आगामी आवको आयव्ययसहितको बजेट प्रस्तुत गरेका थिए ।
महानगरले आगामी आर्थिक वर्षको बजेटमा चालु खर्चतर्फ दुई अर्ब २६ करोड ५० लाख ४९ हजार अर्थात् कुल बजेटको ७० दशमलव २४ प्रतिशत बजेट विनियोजन गरेको छ ।
त्यस्तै; महानगरले पुँजीगत खर्चतर्फ ९२ करोड ३४ लाख अर्थात् कुल बजेटको २८ दशमलव ६४ प्रतिशत र वित्तीय व्यवस्थापनतर्फ तीन करोड ६४ लाख अर्थात् एक दशमलव १२ प्रतिशत विनियोजन गरेको छ ।
महानगरले आगामी आर्थिक वर्षको बजेटमा अनुमानित खर्च बेहोर्ने स्रोतमा आन्तरिक राजस्वबाट एक अर्ब १५ करोड रुपैयाँ सङ्कलन हुने लक्ष्य राखेको छ । त्यसैगरी सङ्घीय अन्तरसरकारी वित्तीय हस्तान्तरणबाट एक अर्ब ३७ करोड ३० लाख बजेट प्राप्त हुने बताइएको छ ।
त्यस्तै गरी सङ्घीय राजस्व बाँडफाँटबाट २३ करोड ७८ लाख, प्रदेश अन्तरसरकारी वित्तीय हस्तान्तरणबाट पाँच करोड, प्रदेश राजस्व बाँडफाँटबाट एक करोड ६७ लाख १३ हजार राजस्व सङ्कलन हुने अनुमान गरेको छ । घरजग्गा रजिष्ट्रेशन शुल्कबापत २५ करोड र नगद मौज्दातबाट १५ करोड खर्च बेहोरिने बताइएको छ । चालु आवका लागि वीरगञ्ज महानगरको बजेट दुई अर्ब ८९ करोड ४८ लाख थियो ।
विराटनगर महानगरको बजेट ४ अर्ब ४० करोड
विराटनगर महानगरपालिकाले ४ अर्ब ४० लाख रुपैयाँको बजेट प्रस्तुत गरेको छ । महानगरको १६ औ नगर सभामा उप प्रमुख शिल्पा कार्कीले आर्थिक वर्ष २०८१/८२ का लागि सो बजेट प्रस्तुत गरेकी हुन् ।
बजेट प्रस्तुत गर्दै उपप्रमुख कार्कीले राजनीतिक दल, उद्योगी, व्यवसायी र नागरिक समाजसँगको वृहत् छलफल र सहमतिबाट बजेट निर्माण गरिएको बत्ताइन् । उनले यो बजेटले समृद्ध महानगर बनाउने अभियानमा सघाउ पु¥याउने समेत दाबी गरिन् ।
उपमेयर कार्कीले प्रस्तुत गरेको बजेटमा पूर्वाधार विकास, वडा स्तरीय योजना र सामाजिक क्षेत्रलाई प्राथमिकतामा राखिएको छ । महानगरले प्रस्तुत गरेको बजेटमा समानीकरण अनुदान सङ्घ र प्रदेशबाट ३७ करोड ९६ लाख ३० हजार, राजस्व बाँडफाँडबाट १ अर्ब १९ करोड २० लाख रुपैयाँ प्राप्त हुने अनुमान गरिएको छ ।
यस्तै आन्तरिक राजस्वबाट १ अर्ब ४० करोड, नगद मौज्दात १४ करोड, सङ्घीय सरकार सशर्त र समपूरक अनुदान ८३ करोड ३४ लाख, प्रदेश सशर्त अनुदान ४ करोड २३ लाख ६७ हजार, सडक बोर्ड नेपालबाट १ करोड ५० लाख र अन्य सङ्घ संस्थाबाट १६ लाख प्राप्त हुने अनुमान गरिएको छ ।