काठमाण्डौ । एनआईसी एशिया बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत उदयपुरस्थित एक सामुदायिक विद्यालयलाई स्मार्ट डिजिटल बोर्ड सहयोग गरेको छ।
बैंकले चौदण्डीगढी–४, बसाहा, उदयपुरस्थित श्री जाल्पा जन माध्यमिक विद्यालय (०–१०), अजिंगरेलाई विद्यार्थीको पठनपाठनलाई थप सहज र प्रभावकारी बनाउने उद्देश्यले स्मार्ट डिजिटल बोर्ड उपलब्ध गराएको हो।
हाल २२२ भन्दा बढी विद्यार्थी अध्ययनरत उक्त विद्यालयमा कात्तिक १२ गते आयोजित विशेष कार्यक्रममा बैंकका लहान सर्कल हेड लेखराज पौडेल र गाईघाट शाखा प्रमुख तेजेन्द्र राईले संयुक्त रूपमा विद्यालयका प्रधानाध्यापक अर्जुनकुमार ओझालाई एक थान स्मार्ट डिजिटल बोर्ड हस्तान्तरण गरेका हुन्।
बैंकका अनुसार उक्त डिजिटल बोर्डको प्रयोगले विद्यालयमा प्रविधिमैत्री शिक्षण वातावरण तयार गर्न सहयोग पुग्नेछ। साथै विद्यार्थीको सिकाइ प्रक्रिया थप सहज, सरल र प्रभावकारी हुने अपेक्षा गरिएको छ।
एनआईसी एशिया बैंकले सामाजिक उत्तरदायित्वअन्तर्गत शिक्षा, स्वास्थ्य तथा सामाजिक क्षेत्रसँग सम्बन्धित विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको जनाएको छ।










