तनहुँ । तनहुँको शुक्लागण्डकी-४, दुलेगौँडामा केन्द्रीय कार्यालय रहेको गणपति लघुवित्त वित्तीय संस्था लिमिटेडले रिक्त रहेको नायव प्रमुख कार्यकारी अधिकृत पदका लागि दरखास्त आह्वान गरेको छ । संस्थाले एक जनाको संख्यामा पदपूर्तिका लागि योग्य, सक्षम तथा अनुभवी नेपाली नागरिकहरूबाट आवेदन माग गरेको हो ।
सूचना अनुसार यो पदका लागि मान्यता प्राप्त शिक्षण संस्थाबाट स्नातकोत्तर तह वा सो सरहको परीक्षा उत्तीर्ण गरी सम्बन्धित क्षेत्रमा कम्तीमा ५ वर्षको कार्य अनुभव भएको हुनुपर्नेछ । त्यसैगरी, स्नातक तह उत्तीर्ण गरेको हकमा सम्बन्धित क्षेत्रमा कम्तीमा १० वर्षको कार्य अनुभव हासिल गरेको हुनुपर्ने प्रावधान राखिएको छ ।
यसका साथै, बैंकिङ्ग तथा वित्तीय क्षेत्र, विशेष गरी लघुवित्त क्षेत्रमा अनुभव भएका उम्मेदवारहरूलाई छनोटमा प्राथमिकता दिइने संस्थाले जनाएको छ । आवेदकलाई नेपाल राष्ट्र बैंकको नियम तथा निर्देशनबारे राम्रो जानकारी भएको र उच्च स्तरको सञ्चार तथा समन्वय क्षमता हुनुपर्नेछ ।
छनोट हुने कर्मचारीको तलब, भत्ता तथा अन्य सुविधाहरू वित्तीय संस्थाको नियमानुसार हुनेछ । इच्छुक तथा योग्य उम्मेदवारले यो सूचना प्रकाशित भएको मिति (२०८३/०१/३१ गते) ले १५ दिनभित्र आवेदन दिनुपर्नेछ ।
आवेदन वित्तीय संस्थाको केन्द्रीय कार्यालय दुलेगौँडा, तनहुँमा सिधै वा इमेल ठेगाना मार्फत पठाउन सकिनेछ । नायव प्रमुख कार्यकारी अधिकृत छनोट सम्बन्धी सम्पूर्ण अधिकार वित्तीय संस्थाको छनोट समितिमा निहित रहने सूचनामा उल्लेख गरिएको छ ।











