काठमाडौं । मन्जुश्री फाइनान्स लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म आफ्नो वित्तीय अवस्थामा सुधार गरेको छ। कम्पनीको नाफा वृद्धि मात्र नभई समग्र वित्तीय स्वास्थ्यमा सन्तुलित प्रगति देखिएको छ, जसले संस्थाको सञ्चालन दक्षता र जोखिम व्यवस्थापन क्षमतामा सुधार आएको संकेत गर्दछ।
समीक्षा अवधिमा कम्पनीले २१ करोड ८९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ, जुन अघिल्लो वर्षको सोही अवधिको तुलनामा २७.९३ प्रतिशतले बढी हो। नाफा वृद्धिको मुख्य आधारका रूपमा इम्पेयरमेन्ट चार्जमा आएको कमी र खुद ब्याज आम्दानीमा भएको वृद्धि देखिएको छ।
कम्पनीको मुख्य आम्दानी स्रोतका रूपमा रहेको खुद ब्याज आम्दानी १०.२४ प्रतिशतले बढेर ६८ करोड ४७ लाख रुपैयाँ पुगेको छ। साथै, शुल्क तथा कमिशन आम्दानी पनि १०.२४ प्रतिशतले वृद्धि भई ९ करोड २ लाख रुपैयाँ पुगेको छ।
यस्तै कम्पनीको सञ्चालन नाफा २९ करोड ३१ लाखबाट बढेर ३२ करोड ३३ लाख रुपैयाँ पुगेको छ। यो अवधिमा कम्पनीको रिटेन्ड अर्निङको आकार १४.६४ प्रतिशतले बढेर ३० करोड ५४ लाख पुगेको छ । अघिल्लो आवमा ७३ करोड ५४ लाख रहको रिजर्भको आकार पनि बढेर ८० करोड ५५ लाख रुपैयाँ पुगेको छ ।
कम्पनीको वितरणयोग्य मुनाफा समेत बढेको छ । वितरणयोग्य मुनाफा ४९.९४ प्रतिशतले बढेर ३० करोड ५४ लाख रुपैयाँ पुगेको छ । कम्पनीको खराब कर्जा अनुपात घटेको छ । अघिल्लो आवमा ४.२० प्रतिशत रहेको खराब कर्जा अनुपात घटेर ३.९९ प्रतिशतमा झरेको छ ।
समीक्षा अवधिसम्म कम्पनीको प्रतिसेयर आम्दानी(ईपीएस) २१.६० रुपैयाँ , पीई अनुपात ३८.८४ गुणा ,प्रतिसेयर नेटवर्थ १८२.२० रुपैयाँ र तरलता अनुपात २२.४६ प्रतिशत कायम भएको छ ।










