समय : ०६:०१ am | मङ्गलबार , चैत्र १० गते २०८२

असोजमा आर्थिक वर्षकै सबैभन्दा थोरै घरजग्गा कारोबार

अर्थ विशेष | कार्तिक १ गते २०८१

काठमाडौं– चालु आर्थिक वर्षको तेस्रो महिनामा घरजग्गा कारोबारमा कमी आएको देखिएको छ । भूमि व्यवस्था तथा अभिलेख विभागले बिहीबार सार्वजनिक गरेको तथ्यांकअनुसार चालु आर्थिक वर्षको असोज महिनामा जम्मा ३० हजार ५२७ वटा लिखत पारित भएको हो । त्यस्तै, तथ्यांकअनुसार असोज महिनामा २३ वटा अपार्टमेन्टको लिखत पारित भएको छ ।

तथ्यांकअनुसार अघिल्लो आर्थिक वर्षको साउन महिनाको तुलनामा चालु आर्थिक वर्षको साउन महिनामा घरजग्गाको लिखत पारित भएको संख्या बढी भएको देखिएपनि भदौ र असोज महिनामा भने कमजोर भएको देखिएको छ । अघिल्लो आर्थिक वर्षको साउन महिनामा २९ हजार २६३, भदौ महिनामा ३५ हजार ६८६ र असोज महिनामा ३९ हजार ८८१ वटा घरजग्गाको लिखत पारित भएको थियो ।

असोज महिनामा सबैभन्दा धेरे सुनसरी इनरुवाको मालपोत कार्यालयबाट ११८५ वटा र सबैभन्दा थोरै ताप्लेजुङको मालपोत कार्यालयबाट २ वटा मात्रै लिखत पारित भएको छ । विभागको तथ्यांकअनुसार चालु आर्थिक वर्षको साउन महिनामा ४३ हजार ८३५ वटा र भदौ महिनामा ३२ हजार ७९८ वटा लिखत पारित भएको थियो ।

घरजग्गाको कारोबारमा कमी आएसँगै असोजमा सरकारको घरजग्गा कारोबारबाट हुने पुँजीगत लाभकर आम्दानीनमा पनि गिरावट आएको छ । असोजमा सरकारले घरजग्गा कारोबारबाट जम्मा १ अर्ब ११ करोड ६२ लाख ७१ हजार ७६९ रूपैयाँ पुँजीगत लाभकर आम्दानी गरेको छ ।

विभागको तथ्यांकअनुसार चालु आर्थिक वर्षको साउन महिनामा घरजग्गाको कारोबारबाट सरकारले १ अर्ब ३४ करोड ६९ लाख ४८ हजार ८६६ र भदौ महिनामा १ अर्ब १३ करोड १५ लाख ६५ हजार ११३ रूपैयाँ पुँजीगत लाभकर संकलन गरेको थियो ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्