समय : ०७:०० am | शनिबार , वैशाख २६ गते २०८३

गणतन्त्र कोरियाद्वारा नेपालमा बाढीपीडितका लागि सहयोग

अर्थ विशेष | असाेज २१ गते २०८१

काठमाडौं । गणतन्त्र कोरिया राष्ट्रिय रेडक्रसले नेपालमा हालै आएको बाढपहिरोबाट प्रभावितलाई सहयोग गर्न नेपाल रेडक्रस सोसाइटीमार्फत १० करोड कोरियन वोन (रु एक करोड) उपलब्ध गराएको छ ।

नेपालस्थित कोरियाली दूतावासका अनुसार रेडक्रसले २ अक्टोबरदेखि राष्ट्रव्यापी सहयोग संकलन अभियान पनि घोषणा गरेको छ । संकलन भएको रकम नेपाल रेडक्रस सोसाइटीको माध्यमबाट विस्थापित व्यक्तिको आपत्कालीन राहत र प्रभावित क्षेत्रमा पुनः स्थापना कार्यमा खर्च गरिने उल्लेख गरेको छ ।

यसैबीच गणतन्त्र कोरियाका परराष्ट्रमन्त्री छो थेयलले गत सोमबार नेपालका परराष्ट्रमन्त्री आरजु राणा देउवालाई नेपालमा आएको भीषण बाढीपहिरोले गराएको आर्थिक तथा मानवीय क्षतिप्रति गहिरो समवेदना सन्देश पठाएका छन् ।परराष्ट्रमन्त्री छोले सन्देशमा नेपालमा भर्खरै परेको अविरल वर्षा र बाढीपहिरोका कारण सयौँ व्यक्तिले ज्यान गुमाएको दुःखद् घटनाको बारेमा थाहा पाउँदा आफू स्तब्ध र दुःखी भएको उल्लेख गरेका छन् । साथै, उनले मृतकहरुप्रति गहिरो समवेदनाका साथै शोकसन्तप्त परिवार र घाइतेहरुप्रति कोरिया सरकारको तर्फबाट सहानुभूति प्रकट गरेका छन् ।

त्यसैगरी नेपालको बाढीपीडितका लागि आवश्यकतामा आधारित भएर कोरिया सरकार र कोरियाली जनताले आफ्नो क्षमता अनुसार सहयोग गर्न तयार रहेको पनि सन्देशमा उल्लेख गरिएको नेपालस्थित कोरियाली दूतावासले जनाएको छ ।

नेपाल र गणतन्त्र कोरियाले दुई देशबीचको कूटनीतिक सम्बन्ध ५०औँ वर्षगाँठको अवसरमा यसवर्ष विभिन्न कार्यक्रम आयोजना गर्नुका साथै दुई देशका उच्च तहबाट बधाई सन्देश आदानप्रदान गरेका छन् ।

अक्टोबर ३ तारिख कोरियाली गणतन्त्र दिवसको अवसरमा राष्ट्रपति रामचन्द्र पौडेलले कोरियाका राष्ट्रपति युन सख्यल र कोरियाली जनतालाई हार्दिक बधाई ज्ञापन गरेका थिए ।

सन्देशमा दुई देशबीचको सौहार्दपूर्ण सम्बन्ध पारस्परिक सम्मान र एकअर्काप्रतिको असिम सद्भावमा आधारित घनिष्ट र मैत्रीपूर्ण रहेको उल्लेख छ । अर्ध शताब्दी पुरानो द्विपक्षीय सम्बन्धको यात्रामा सन्तोष व्यक्त गर्दै राष्ट्रपति पौडेलले ‘एभरेष्टिङ फ्रेन्डसिप’ भन्ने नाराले सार्थकता पाएको सन्देशमा उल्लेख गरेका थिए ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्