समय : ०७:३४ am | शनिबार , वैशाख २६ गते २०८३

ह्युमपाइपले जोडियो तातोपानी नाका

अर्थ विशेष | असाेज २१ गते २०८१

चौतारा । गत साताको अविरल वर्षासँगै आएको बाढीपहिराले अरनिको राजमार्गको विभिन्न पुल क्षतविक्षत भएपछि सडक सञ्जाल विमुख बनेको तातोपानी नाका ह्युमपाइपले जोडिएको छ ।

तीन दिनदेखि अस्थायी ह्युमपाइप राखेर सडक बनाउन खोजिए पनि भोटेकोशी नदीमा जलसतह बढेकाले कठिनाइ भएको थियो । त्यसैले गत शनिबार साँझ ५ बजे ह्युमपाइप राखेर सडक सञ्चालनमा ल्याइएको भोटेकोशी गाउँपालिका अध्यक्ष पासाङनुर्पु शेर्पाले जानकारी दिए ।

उहाँका अनुसार ह्युमपाइप राखेर साना सवारी आवतजावत गराए पनि ठूला सवारी भने तत्काल सञ्चालन गर्न सकिएको छैन ।

सिन्धुपाल्चोक उद्योग वाणिज्य सङ्घका अध्यक्ष बुद्धराज बस्नेतका अनुसार ह्युमपाइप राखिएसँगै तातोपानीमा रोकिएका सयौँ साना सवारीसाधन पास गराइएको छ । उनका अनुसार लार्चामा ह्युमपाइप राखेर सडक सामान्य अवस्थामा सञ्चालन गरे पनि कोदारीको पहिरो तथा लिपिङ खोलाको पुल राख्न अझै बाँकी छ ।

लार्चामा राखिएको ह्युमपाइप निकै गहिरो स्थानमा राखिएकाले ठूला सवारीहरू आवतजावत गराउन कठिनाइ भएको भोटेकोशी गाउँपालिका–३ का अध्यक्ष निमासोना शेर्पाको भनाइ छ ।

भोटेकोशी बाढीले बगाएको लार्चा पुल भएको स्थानमा मानव आवतजावतका लागि तुइनसमेत राखिएको छ । भोटेकोशी गाउँपालिका–२ लार्चामा रहेको बेलीब्रिज बगाएपछि सीमाक्षेत्र लिपिङका स्थानीय सडक सम्पर्कविहीन भएका थिए ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्