काठमाडौं । नेपाल टेलिकम(एनटीसी)को नाफा र आम्दानी दुवैमा कमी आएको छ । कम्पनीले गत आर्थिक वर्षको चौथौ त्रैमाससम्म ६ अर्ब ६१ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको छ । जुन अघिल्लो आवको सोही अवधिको तुलनामा १६.४४ प्रतिशतले कम हो । अघिल्लो आवको अन्त्यसम्म भने कम्पनीले ७ अर्ब ९२ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।
नाफासँगै कम्पनीको आम्दानीमा पनि गिरावट आएको छ । कम्पनीले समीक्षा अवधिसम्म ४१ अर्ब ६१ करोड रुपैयाँबराबरको कुल आम्दानी गरेको छ । जुन अघिल्लो आवको सोही अवधिको तुलनामा ६.३२ प्रतिशतले कम हो ।
कम्पनीको रिजर्भको आकार ७६ अर्ब ५७ करोड रुपैयाँबराबर रहेको छ । जुन अघिल्लो आवको सोही अवधिको तुलनामा ०.८३ प्रतिशतले बढी हो । कम्पनीको कुल चालु सम्पत्ति ४९ अर्ब ९४ करोड रुपैयाँ र कुल चालु दायित्व १९ अर्ब ४३ करोड रुपैयाँ रहेको छ ।
नाफा घटेसँगै कम्पनीको प्रतिसेयर आम्दानी (ईपीएस) पनि घटेको छ । कम्पनीको ईपीएस ४४ रुपैयाँबाट घटेर ३६.७७ रुपैयाँ कायम भएको छ । त्यस्तै कम्पनीको प्रतिसेयर नेटवर्थ ५२५।४३ रुपैयाँ, प्रतिसेयर कुल सम्पत्तिको मूल्य ७५८.४६ रुपैयाँ र पीई अनुपात २२.९८ गुणा कायम भएको छ ।