समय : ०९:२५ pm | मङ्गलबार , वैशाख २९ गते २०८३

कैलालीका १५ नदीमा तटबन्ध निर्माण, २१ करोड खर्च

अर्थ विशेष | श्रावण २२ गते २०८१


गोदावरी- कैलालीको चुरे भएर दक्षिणतिर बग्ने १५ नदीमा तटबन्ध निर्माण गरिएको छ। प्रदेश सरकारअन्तर्गत सात र संघ ससर्त अनुदानबाट आठ गरी १५ नदीमा तटबन्धको काम सम्पन्न भएको हो । प्रदेश सरकारले गत आर्थिक वर्ष २०८०/८१ मा विनियोजन गरेको १८ करोड ९३ लाख रूपैयाँ बजेटबाट कटैनी गौरीगंगा, शिवगंगा, घुराहा, कान्द्रा, काँडा र ठूलीगाड गरी सात नदीमा कटान नियन्त्रण तथा रोकथाम गर्न ठेक्का सम्झौताद्वारा तटबन्ध निर्माण गरिएको जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालयले जनाएको छ।

कार्यालयले दिएको जानकारी अनुसार गौरीगंगा नगरपालिकास्थित कटैनी नदीमा दुई सय ८०, गौरीगंगामा दुई सय ३०, शिवगंगामा एक सय ६५ र कैलालीको घुराहा नदीमा एक सय ५० गरी आठ सय २५ मिटरका लागि तीन करोड रूपैयाँमा ठेक्का सम्झौताद्वारा तटबन्ध सम्पन्न भएको छ।

घोडाघोडी नगरलालिकास्थित कान्द्रा नदीमा नौ करोड रूपैयाँ, बर्दगोरिगा गाउँपालिकाको काँडा नदीमा पाँच करोड रूपैयाँ र मोहन्याल गाउँपालिका-४ खिमडीस्थित ठूलीगाडमा एक करोड ९३ लाख रूपैयाँको लागतमा तटबन्ध निर्माणको काम भएको डिभिजन कार्यालयका इञ्जिनियर तथा सूचना अधिकारी ललितबहादुर मालीले जानकारी दिए।
यसैगरी गत आव २०८०/८१ मा संघको ससर्त अनुदानबाट दुई करोड २५ लाख रूपैयाँमा आठ नदीमा उपभोक्ता समितिमार्फत नदी कटान तथा नियन्त्रणको काम सम्पन्न भएको सूचना अधिकारी मालीले जानकारी दिए।

उनका अनुसार बर्दगोरिया-१ स्थित काँडानदीमा ४० लाख रूपैयाँ, कुइरा नदीमा ३० लाख रूपैयाँ, गौरीगंगा-४ स्थित खुरखुरिया नदीमा २५ लाख रूपैयाँ, लिक्मा नदीमा २५ लाख रूपैयाँ, कटैनीखोलामा २५ लाख रूपैयाँ, मोहन्यालको ताम्चा खोलामा २५ लाख रूपैयाँ, टीकापुर-८ सत्तीपुलदेखि दक्षिण श्रीलंका टोलमा २५ लाख रूपैयाँ र गोदावरी नगरपालिका-४ खैराना नदीमा ३० लाख रूपैयाँको लागतमा तटबन्धको काम सम्पन्न भएको हो।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्