इलाम। इलाम माङसेबुङ गाउँपालिका–६ माङमालुङ बजारकी वसन्ता राईको दिनचर्या फेरिएको छ। वर्षौंदेखि बिहानको समय गाग्रीमा पानी बोक्दैमा बिताउँदै आएकी उनको घरैमा खानेपानी धारा जडान भएपछि उनको दिनचर्या फेरिएको हो। उनले भनिन्, “पानी बोक्ने बिहानको समय घरायसी अन्य काममा लगाउन थालेको छु ।”
डेढ घण्टा उकालो बाटो गाग्रीबाट बोकेको पानीको भरमा गुजारा चलाउँदै आउनुभएको वसन्तासहित माङमालुङ बजार र आसपासका एक सय ७१ घरपरिवारले त्यो बाध्यताबाट मुक्ति पाएका छन्। संघीय सरकारको विशेष अनुदानअन्तर्गत रु एक करोड ६६ लाख ६६ हजार एक सय ५३ को लागतमा बृहत् खानेपानी आयोजना निर्माण भएपछि खानेपानीको लागि घण्टौँसम्म उकालोरओरालो गर्नुपर्ने वर्षौँदेखिको बाध्यता हटेको हो।
माङसेबुङ गाउँपालिका–२ र ६ वडावासीका लागि ‘लिफ्ट’ प्रविधिबाट ‘मिक्लाजुङ खानेपानी आयोजना (चित्रेखोला मुहान)’ निर्माण सम्पन्न भएको छ। मुख्य प्रसारण लाइनको विद्युत् प्रयोग गरेर चित्रेखोला मुहानअन्तर्गत गढेरे खोल्सी मुहानबाट एक हजार दुई सय मिटर टाढा पानी तानेर घरघरमा मिटरसहित धारा जडान गरी वितरण गरिएको छ। आयोजनाबाट वडा नं २ का चित्रे, डोलटार, भोटेडाँडा र वडा नं ६ का माङमालुङ बजार, नागीगाउँ, छेउनागलगायत गाउँका एक सय ७१ घरपरिवार प्रत्यक्ष लाभान्वित भएका छन्।
आयोजना निर्माण भएसँगै खानेपानीका लागि सदियौँदेखि सास्ती खेप्नुपरेको त्यस क्षेत्रका बासिन्दा काकाकुलबाट मुक्त भएका छन्। सदियौँदेखिको खानेपानी समस्या तोड्दै घरघरमा बनाइएका धाराबाट पानी आउन थालेपछि त्यस क्षेत्रका बासिन्दामा खुसीको सीमा छैन। आदिवासी राई जातिको एकल बाहुल्य रहेको त्यस क्षेत्रका बासिन्दाले पानी शुद्ध पिउने पानी पाएपछि हर्षित भएका छन्।
रु दुई करोड ५९ हजारको लागत अनुमान रहेकामा बिएनके महालक्ष्मी जेभी धनकुटाले रु एक करोड ६६ लाख ६६ हजार एक सय ५३ मा ठेक्का पारेको थियो । आयोजनाअन्तर्गत मुहानबाट दुई मिटर दूरीमा ७५ घनमिटर क्षमताको कलेक्सन ट्यांकी निर्माण गरिएको हो। कलेक्सन ट्यांकीबाट एक किलोमिटर दूरीमा एक लाख लिटर क्षमताको रिजर्भ ट्यांकीमा पुर्याएर पानी वितरण गरिएको माङसेबुङ गाउँपालिकाका इन्जिनिर युवराज दाहालले बताए। रिजर्भ ट्यांकीबाट साढे आठ हजार मिटर एचडीपीइ पाइप (पोलिथिन पाइप) विस्तार गरी घरघरमा खानेपानी वितरण गरिएको उनले बताए।
“लिफ्ट प्रविधिबाट सञ्चालन गरिएको आयोजनाबाट प्रतिसेकेण्ड पाँच लिटर पानी आउँछ, यो गाउँवासीका लागि पर्याप्त हुन्छ”, इन्जिनियर दाहालले भने, “त्यसका लागि मुख्य प्रसारण लाइनबाट ११ हजार भोल्टको करेन्ट प्रवाह हुनेगरी विद्युत् लाइन जडान गरिएको छ, आयोजनाका लागि छुट्टै ५० केभीए क्षमताको ट्रान्सफर्मर जडान गरिएको छ।”
वर्षौैैँदेखिको खानेपानीको समस्या भोग्दै आएका स्थानीयले घरघरमा खानेपानी आएपछि नयाँ जीवन पाएको बताएका छन् । जन्मेदेखि नै खानेपानीको सास्ती भोग्दै आएकी स्थानीय कमलकुमारी राईले घरघरमा पानी आउँदा निकै खुसी लागेको बताए। “खानेपानीका लागि बिहानभरि पर्खेर कुवाको दूषित पानी खान बाध्य थियौँ, हिउँदमा त त्यो पनि सुक्खा हुन्थ्यो”, उहाँले भन्नुभयो, “वर्षौँदेखि भोग्दै आएको त्यो समस्या अहिले अन्त्य भएको छ, हामी सुखी छौँ ।”
खानेपानी आयोजना सञ्चालन भएपछि पिउनका लागि मात्र होइन, शौचालय जान, नुहाइधुवाइ गर्न, लुगाकपडा धुन तथा वस्तुभाउलाई खुवाउने समस्या समाधान भएको स्थानीय सुनिता राईले बताउनुभयो । घरघरमा शुद्ध खानेपानी पुगेपछि अहिले गाउँवासी सबै हर्षित भएको उनले बताए।
उक्त क्षेत्रमा स्थानीयले सदियौँदेखि खानेपानीको चरम समस्या भोग्दै आएका थिए । आर्थिक वर्ष २०६७र६८ मा मावाखोलाको शिर खालेधाराबाट अस्थायी खानेपानीको व्यवस्थापन गरेको भए पनि हिउँदमा मुहान सुक्ने कारणले समस्या ज्यूँकात्यूँ थियो । तर विद्युतीय माध्यमबाट ‘पम्पिङ’ गरी खानेपानी आयोजना सञ्चालन भएपछि समस्या सधैँका लागि अन्त्य भएको माङसेबुङ गाउँपालिका अध्यक्ष हेमन्त राईले बताए।
“पहिलो चरणमा एक सय ७१ घरपरिवारका लागि खानेपानी आयोजना सम्पन्न गरिएको छ, यहाँबाट धेरैका खानेपानीको समस्या समाधान भएको छ”, उनले भने, “अर्को चरणमा अन्य बस्तीका लागि रु तीन करोडको यस्तै आयोजना सञ्चालन गरिनेछ, त्यसका लागि पहल भइरहेको छ ।” आयोजन सञ्चालन भएको क्षेत्र समुद्री सतहबाट दुई हजार मिटर उचाइमा अवस्थित छ ।










