समय : १२:२७ am | बुधबार , वैशाख २९ गते २०८३

फक्ताङलुङमा घरआँगनमै पालिकाको सेवा

अर्थ विशेष | श्रावण ९ गते २०८१

ताप्लेजुङ- फक्ताङलुङ गाउँपालिकाले नागरिकको घरआँगनमा सेवा प्रवाह गर्दै आएको छ। स्थानीय सरकारको अनुभूति गराउन गाउँपालिकाले नागरिकका घरमा पुगेर सेवा दिन थालेको हो।जनप्रतिनिधि, कर्मचारी र स्वास्थकर्मीको टोलीले नागरिकका घरमा पुगेर स्वास्थ्य जाँच गर्ने र आवश्कताअनुसार उपचारका लागि परामर्श दिने गरेका फक्ताङलुङ गाउँपालिका-२ खेजिनिमका वडाध्यक्ष भूपेन्द्र चौँलागाईँले बताए।'मंगलबार बिहानदेखि स्वस्थ्य परीक्षण र सामाजिक सुरक्षा भत्ता उपलब्ध गराएका छौँ।

फक्ताङलुङ गाउँपालिका-२ खेजिनिममा दुई सयजना सामाजिक सुरक्षा भत्ता पाउने नागरिक छन्, बिहीबारसम्ममा काम सकाउनेगरी गाउँ डुल्दैछौँ', फक्ताङलुङ गाउँपालिका अध्यक्ष राजन लिम्बूले बताए।कार्यक्रम विषेशगरी फरक क्षमता भएका, ज्येष्ठ नागरिक, बालबालिका, गर्भवती तथा सुत्केरी र स्वास्थ्य संस्थाको पहुँचभन्दा टाढा रहेका नागरिकलाई प्राथमिकतामा राखी सञ्चालन गरिएको जानकारी उनले दिए।

पालिकाले ज्येष्ठ नागरिक तथा विपन्न नागरिकलाई स्वास्थ्य सेवाको सहज पहुँच पुर्‍याउन निःशुल्क एम्बुलेन्स र औषधि उपलब्ध गराउँदै आएको छ। दीर्घरोगीलाई घरमा पुगेर स्वास्थ्य जाँच तथा औषधि उपचार गर्ने गरिएको छ।

टोल-टोलमा स्वास्थ्य स्वयंसेविकामार्फत सचेतना कार्यक्रम पनि सञ्चालन गरिएको छ। कार्यक्रमको उद्देश्य स्वास्थ्य संस्थामा सुत्केरी हुन प्रेरित गर्ने रहेको पालिकाले जनाएको छ। प्रत्येक तीन-तीन महिनामा नागरिकका घरआँगनमा पुगेर सामाजिक सुरक्षा भत्ता, स्वास्थ्य परीक्षण साथै परामर्श दिँदै आएको गाउँपालिकाले जनाएको छ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्