समय : ०१:२३ am | बुधबार , वैशाख २९ गते २०८३

फलफूल खेती विस्तारका लागि किसानलाई बिरुवा वितरण

अर्थ विशेष | श्रावण ६ गते २०८१

पर्वत । वन्यजन्तुबाट हुने क्षतिलाई न्यूनीकरण गर्दै सिंगो गाउँपालिकालाई फलफूल उत्पादनमा आत्मनिर्भर बनाउने उद्देश्यले महाशिला गाउँपालिकाले ठूलो सङ्ख्यामा फलफूलका बिरुवा वितरण गरेको छ।किसानलाई व्यावसायिक रुपमा फलफूल खेतीतर्फ आकर्षित गर्न यस वर्ष झन्डै साढे ११ हजार बिरुवा वितरण गरिएको हो। पालिकाको भौगोलिक अवस्था र किसानको मागका आधारमा पर्याप्त मात्रामा बिरुवा वितरण गरिएको गाउँपालिकाका अध्यक्ष ईश्वरी भुसालले जानकारी दिए।

अध्यक्ष भुसालका अनुसार किसानलाई सुन्तला, कागती, टिमुर, कफी, एभोकाडो मेकाडामियानटलगायत फलफूलका बिरुवा वितरण गरिएको हो। अहिले वितरण गरिएका बिरुवाबाट किसानले दुईदेखि तीन वर्षमा आम्दानी गर्नसक्ने भएका छन्। पालिकाको फलफूल तथा काष्ठफल विस्तार योजनाअन्तर्गत ५० प्रतिशत अनुदानमा बिरुवा उपलब्ध गराइएको हो।

गाउँपालिकाको कृषि शाखा प्रमुख सन्तोष धितालका अनुसार पालिकाका छवटा वडाका किसानलाई मागका आधारमा बिरुवा उपलब्ध गराइएको हो। धितालले कागती चार हजार दुई सय, सुन्तला तीन हजार तीन सय, टिमुर दुई हजार पाँच सय र कफीका आठ सय बिरुवा वितरण गरिएको छ। त्यसैगरी, तीन(तीन सयका दरले एभोकाँडो र मेकाडामियानट वितरण गरिएएको छ।

बाँदर आतंकका कारण खेतबारी बाँझो रहने क्रम बढेपछि वन्यजन्तुको क्षतिबाट बच्ने खालका एभोकाडो र मेकाडामियानट जस्ता फलफूलका बिरुवा पनि पालिकामा भित्र्याइएको हो। गत वर्षदेखि पालिकामा दाँते ओखरको पनि व्यावसायिक खेती थालिएको कृषि शाखा प्रमुख धितालले जानकारी दिए। हरेक किसानले सुन्तला १५ देखि २०, कागती २५, एभोकाडो छ, मेकाडामियानट १५, टिमुर ५० र कफीका बिरुवा एक सय १० का दरले वितरण गरिएको धितालले बताए।

परम्परागत कृषिबालीमा आश्रित यहाँका किसानलाई अन्नबालीसँगै फलफूलतर्फ पनि आकर्षित गर्ने योजना गाउँपालिकाको रहेको छ। घरको आँगन, बारी र खाली जमिनमा बिरुवा लगाइ किसानलाई व्यावसायिक र फलफूलमा आत्मनिर्भर गराउन बिरुवा वितरण कार्यक्रम प्रभावकारी हुने पालिकाको अपेक्षा छ। धान, मकै, आलु जस्ता बालीमा बाँदरले ठूलो नोक्सानी पुर्‍याउन थालेपछि खेतबारी बाँझै राखेका किसानलाई फलफूल विस्तार अभियानले उत्साहित बनाएको छ।

पालिकाले उपलब्ध गराएका बिरुवा किसानले लगाएर छाड्ने मात्र नभइ स्वरोजगारमूलक ढंगबाट लगाउन आग्रह गरिएको छ। यसको उचित संरक्षण र रेखदेख गर्न सके गाउँमै पर्याप्त आम्दानी गर्न सकिने भएकाले पनि फलफूलका बिरुवाको उचित संरक्षण गर्न पालिकाले आग्रह गरेको छ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्